काठमाडौँ, २९ जेठ । नेपाल र डेनमार्कबीच ‘डानिडा व्यावसायिक सहकार्य कार्यक्रम’सम्बन्धी सम्झौतामा आज द्विपक्षीय हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव युवराज भुसाल र नेपालका लागि डेनिस राजदूत क्रिस्टेन गेलानबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सोअनुसार नेपालका व्यावसायिक कम्पनीलाई सुधार गराउँदै नयाँ व्यावसायिक अवसर निर्माणका लागि डेनमार्कका व्यावसायिक संस्थाले आर्थिक र प्राविधिक पक्षमा सघाउने छन् ।

नेपालमा करिब एक दशकदेखि डेनमार्कले कृषि, स्वास्थ्य, सूचना प्रविधि, हस्तकला, फोहर व्यवस्थापन, पर्यटन आदि क्षेत्रका ४५ कम्पनीलाई ज्ञान, दिगो व्यावसायिक अभ्यास र क्षमता अभिवृद्धिका लागि सहयोग गर्दै आएको छ ।

अर्थ सचिव भुसालले सो सम्झौताबाट नेपालको निजी क्षेत्रको व्यवस्थापकीय सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत गेलानले डेनमार्कले नेपाली निजी क्षेत्रका कम्पनीलाई यस प्रकारको क्षमता वृद्धिका कार्यमा निरन्तर सघाउने बताउँदै यसबाट वैदेशिक लगानी आकर्षण गर्न र रोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने जनाए ।

परियोजनाअन्तर्गत दुवै देशका कम्पनीले अनुभव आदानप्रदान गर्न पाउनेछन् । साथै निजी क्षेत्रको दिगो विकासमा हरित अर्थतन्त्र वृद्धि, जीवनशैलीमा सुधार र गरिबी घटाउन मद्दत मिल्ने दूतावासका कार्यक्रम अधिकृत आयुष राईले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।