पेस्तोलसहित पाँच भारतीय पक्राउ

विराटनगर, २५ जेठ । हतियारसहित नेपाल प्रवेश गरेका पाँच जना भारतीयलाई सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म विराटनगरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पूर्णिया विहारका रञ्जित चौधरी, ४२ वर्षीय सञ्जय राय, २७ वर्षीय शान्तिपुर महतो, पटनाका ३६ वर्षीय विवेक सिंह र आशिष गुप्ता रहेका छन् ।

रानी सीमा नाकाको दुई नम्बर ढाटमा शनिबार साँझ सशस्त्र प्रहरीका हवल्दार राजेश्वर थापा नेतृत्वको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

 निजी माइक्रो भ्यानमा नेपाल प्रवेश गर्दै गरेका उनीहरुमध्येका सञ्जयको साथमा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सञ्जयको साथबाट इटालीमा बनेको सात प्वाइन्ट ६५ एमएमको पेस्तोल एक थान र त्यसमा लाग्ने गोली १० थान बरामद भएको छ ।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ ५०० को एक लाख र एक हजारको नोट ११ हजारसमेत बरामद गरेको छ ।

उनीहरुसँगै बिआर ११ टी २४६५ नम्बरको माइक्रो भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ गरिएका भारतीयहरुले आफूहरु महिन्द्रा डिस्ट्रीब्युटर्स प्रालि विहार पूर्णियाको सञ्चालक रहेको र नेपाल घुम्न आएको बयान दिएका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।