चितवन २५ जेठ । चितवनको मुग्लिनबजारमा सुन चोर्न ताला फोरेर पसलभित्र छिरेका दुईजनालाई प्रहरीले सुनपसलभित्रै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार आज बिहान करिब ३ बजेको समयमा उनीहरूलाई स्थानीय त्रिवेणी सुन पसलबाट पक्राउ गरिएको हो  ।

सुन पसलको ताला काटेर भित्र छिरेको भनी स्थानीयले दिएको सूचनाका आधारमा  प्रहरीलाई खबर गरेपछि मुग्लिन प्रहरी सो पसल घेराउ गर्न पुगेको थियो । प्रहरी आएको चाल पाएपछि पसलको भित्रपट्टिबाट उनीहरूले सटरमा ताला लगाएका थिए ।

पछि प्रहरीले भित्तो फोरेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा  राजकुमार थापा र रमेश थापा रहेका प्रहरीले जनाएको छ । एकजना चितवनका र एक नुवाकोट घर भएका उनीहरूको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

घटनाको विषयमा बेलैमा थाहा पाएकाले चोरी हुन भने नपाएको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।