काठमाडौँ, २४ जेठ । सामाजिक व्यवहार सुधार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको नाम नै परिवर्तन गरी सामाजिक व्यवहार(निषेध र नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राख्नुपर्ने सुझाव नागरिक स्तरबाट आएको छ ।
वुमन एक्ट र सामुदायिक सारथी नामक संस्थाले तीनवर्ष लगाएर ४५ जिल्लामा गरेको विभिन्न छलफल कार्यक्रमबाट विधेयकको नाम नै परिवर्तन गर्नुपर्ने र त्यसमा भएका व्यवस्थालाई समेत परिमार्जन गर्नुपर्ने सुझाव प्राप्त भएको बताइयो ।
शुक्रबार आयोजित कार्यक्रममा विधेयकको प्रस्तावनामा ‘आ–आफ्नो धर्म, जात, प्रथा, परम्परा, संस्कार, कूल, रीतिपरम्पराअन्तर्गत सामाजिक व्यवहारमा भइरहेको तडकभडक तथा फजूल खर्च गर्ने प्रवृत्तिलाई पूर्णरूपमा नियन्त्रण गरी त्यस्तो खर्चलाई उत्पादनमूलक कार्यमा लगाई सर्वसाधारण जनताको आर्थिक हित कायम गर्ने तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ एव् मर्यादित बनाउने सम्बन्धमा प्रचलित कानुनलाई समयानुकूल परिमार्जन गर्न बाञ्छनीय भएकाले’ राख्नुपर्ने बताइयो ।
गृह मन्त्रालयका उपसचिव सूर्यवंश कँडेलले सामाजिक व्यवहारअन्तर्गत तोकिएको ‘सिलिङ’ कार्यान्वयनमा नभएको भन्दै कमाउने व्यक्तिले आफ्नो हैसियतअनुसार खर्च गर्न पाउनुपर्ने बताए ।
कार्यक्रममा सभासद् रामनारायण बिडारी, रीता शाही र कमला घिमिरेले राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरिरहेको बताउँदै जनसमुदायको चाहनामा नै संविधान बन्नेमा जोड दिए ।
वुमेन एक्टका अध्यक्ष सिर्जना अधिकारीले नेपालमा राम्रा कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएका कारण प्रभावकारी हुन नसकेकाले अब युवालाई नै यसमा अग्रसर गराउनुपर्ने विचार व्यक्त गरे । 
संस्थाले हालसम्म ४५ जिल्लाका दुई हजार ४३० जनासँग विभिन्न १४ विधेयकमा छलफल चलाइसकेको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।