काठमाडौंँ, १९ जेठ । विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण अभियानमा रहेको प्रथम समावेशी महिला पर्वतारोही टोली पाँच महादेशको सफलतापछि उत्तर अमेरिकी सर्वोच्च हिमशिखर आरोहण गर्न आज बिहान संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान ग¥यो ।
टोलीले अङ्ग्रेजी जुन महिनाको दोस्रो सातामा उत्तर अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल डेनाली ( छ हजार १९५ मि) आरोहण गर्ने लक्ष्य रहेको टोली संयोजक शैली बस्नेतबाट थाहा भएको छ । टोलीमा बस्नेतका साथै चुनु श्रेष्ठ, आशाकुमारी सिंह, पेमाडिकी शेर्पा,निम्डोमा शेर्पा, पुजन आचार्य र माया गुरुङ रहनुभएको छ ।
डेनाली आरोहणका लागि नेपाल पर्वतारोहण सङ्घ, गोल्छा अर्गनाइजेसन, पञ्चकन्या समूह, फूलकुमारी महतो स्मृति गुठीलगायतको सहयोग रहेको बताइएको छ । महिला शिक्षा, सशक्तीकरण र वातावरण संरक्षणप्रति समर्पित उक्त महिला पर्वतारोही टोलीले अभियानका क्रममा यसअघि एसिया महादेशका साथै नेपालको सगरमाथा, अस्ट्रेलियाको कोजिअस्को, युरोपको इल्ब्रुस, अफ्रिकाको किलिमञ्जरो र दक्षिण अमेरिकी महादेशको अकोन्कागुवाको सफल आरोहण गरिसकेको छ ।
डेनाली शिखर आरोहणपछि अभियानको अन्तिम गन्तव्य मानववस्तीविहीन अन्टार्टिका महाद्वीपको सबैभन्दा अग्लो चुचुरो भिन्सन मासिफ हुने पनि टोलीबाट थाहा भएको छ । रासस