सुर्खेत, १८ जेठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा नागरिकता बनाउन आएका एक साधुलाई एक जना ‘अपरिचित’ महिलाले आफ्नो बुबा दाबी गरेपछि जिल्ला प्रशासन कार्यालय अलमलमा परेको छ ।

त्रिचालीस वर्षअघि घर छोडेर भारत लागेको बताउने सालकोट चमेरी खेतका नरबहादुर कामीलाई सोही गाविस–६ की सरस्वती भट्टराईले आफ्नो बुबा भएको दाबी गरेपछि जिल्ला प्रशासनमा दिनदिनै त्यही विषयमा छलफल हुने गरेको छ ।

ती महिला र साधुबीचको सम्बन्ध के हो भन्ने पत्ता नलागेपछि अन्ततः जिल्ला प्रशासन कार्यालयले डिएनए परीक्षण गराउन सुझाव दिएको छ ।

उनीहरुको नाता सम्बन्धबारे आइतबार भएको छलफलमा पनि टुङ्गो लाग्न नसकेपछि डिएनए परीक्षण गर्न सुझाव दिइएको प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जानकारी दिए ।

साधु नरबहादुर सरस्वतीका बाबु हुन् की होइनन् भन्ने बयान दिन आइतबार महिलाकी आमालाई छलफलमा बोलाइएको र महिलाकी आमाले पनि आफ्नो पति नरबहादुरनै भएको बताएपछि समस्या जटिल बनेको प्रजिअ घिमिरेले बताए ।

दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि प्रशासनबाट डिएनए परीक्षणको लागि सिफारिस गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा कुरा मिल्न नसकेपछि डिएनए परीक्षण गर्न दुवै पक्ष सहमत भएका छन् । महिलाले कामी थर बताउने ती साधु आफ्नो बुबा भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी नै दिएपछि साधुले तीन महिनादेखि नागरिकता पाउन सकेका छैनन् ।

गत फागुनमा नरबहादुर नागरिकता बनाउन भन्दै सुर्खेत आएपछि यो समस्या बाहिर आएको हो । नरबहादुर २०२८ सालमा सालकोटको चमेरीखेतबाट बेपत्ता भएका थिए । १६÷१७ वर्षको उमेरमै घर छोडेका कामी भारतको हरिद्वारमा सन्याशी बनेर बसेका थिए । गत फागुनमा नागरिकता बनाउन आएका उनलाई सरस्वतीले आफ्नो बाबु भएको दाबी गर्दै उनकै नामबाट आफ्नो नागरिकता बनाउने अड्डी कसेकी छिन् ।

सरस्वतीका बुबा रामप्रसाद शर्मा जिल्ला वन कार्यालय रुकुममा खरिदार पदमा कार्यरत थिए । १५ वर्ष अगाडि २०५६ साल वैशाख २९ गते उनी लखनऊमा उपचार गर्न गएको बेलादेखि नै बेपत्ता छन् ।

लामो समयदेखि बुबालाई खोजिरहेकी सरस्वतीले बेपत्ता बाबु हरिद्वारमा रहेको भन्ने खबर पाएपछि २०६८ माघ १६ गते आफू हरिद्वार पुगेको दाबी गरेकी छिन् । “म उहाँलाई भेट्न तीनपटक हरिद्वार पुगेपछि भेट भयो,” सरस्वतीले भनिन् – “उहाँ नै मेरो बुबा हो ।”

मानसरोवर जान नरबहादुरलाई नेपाली नागरिकता चाहिने भएपछि उनी नेपाल आएका थिए । सन्याशी बनेका नरबहादुरले सरस्वती आफ्नी छोरी नभएको बताउँदै आएका छन् । “म सालकोटमा छँदा विवाह गरें, त्यसपछि हरिद्वार गएर सन्याशी बनें,” उनले भने – “मेरा सन्तान छैनन्, म बाहुन होइन कामी हुँ ।” रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।