काठमाडौँ, १६ जेठ । सरकारले  चार जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भएको छ । 
मुलुकमा विद्यमान विद्युत्भार कटौती कम गर्न र ऊर्जा सङ्कटबाट केही मात्रामा भए पनि राहत प्रदान गर्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाइएका ती आयोजनामा दूधकोसी चौथो ४९ मेगावाट, म्याग्दी जलविद्युत्  ३२ मेगावाट, बेनी कालीगण्डकी ५० मेगावाट र सङ्खुवासभा खोला  ३० मेगावाट छन् ।
ती आयोजना सोलुखुम्बु, म्याग्दी र सङ्खुवासभा जिल्लामा छन् ।  ती आयोजनाबाट कुल १६१ मेगावाट विद्युत् उत्पादन हुनेछ ।  सरकारले ती आयोजनालाई प्रमुखताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । वर्तमान सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा ऊर्जा मन्त्रालयले दिएको जानकारीमा पनि ती आयोजनालाई आगामी आवको सुरुबाटै निर्माणको प्रक्रिया अगाडि बढाउने तयारीसमेत गरिएको छ । 
सकेसम्म सरकारले नै ती आयोजनामा लगानी गर्ने र त्यो सम्भव नभए मात्रै निजी क्षेत्रलाई निर्माणका लागि आग्रह गरिनेछ ।  मन्त्रालयले पछिल्लो दिनमा अघि सारेको ऊर्जा विकासको द्रुततर अभियानलाई सहयोग पु¥याउन समेत ती आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ । 
मन्त्रालयका  प्रवक्ता केशवध्वज अधिकारीका अनुसार ती आयोजनाको अध्ययनका लागि परामर्शदाता छनोटको काम अगाडि बढेको छ । 
यस्तै लम्जुङको तल्लो चेपे जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको तथा डडेल्धुराको डोटीगाड जलविद्युत् आयोजनाको स्थलगत रुपमा गरिने अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । 
यसैगरी ताप्लेजुङको मौवा खोला र रोल्पाको माडी खोला जलविद्युत् आयोजनाको पनि स्थलगत अध्ययनको काम सम्पन्न भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । ती आयोजनाको लामो समयदेखि निर्माण प्रक्रिया सुरु गरिने भनिए पनि विविध कारणले अवरुद्ध हुँदै आएको थियो । रासस
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।