वैशाख १९ । एकीकृत नेकपा माओवादीको बिहीबारबाट विराटनगरमा सुरु भएको राष्ट्रिय सम्मेलन लेबीको विषयलाई लिएर प्रभावित बन्न पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आर्थिक पारदर्शीताबारे अडान राख्दै लेबी नतिर्ने प्रतिनिधिलाई प्रवेश नदिने बताएपछि बन्दसत्र साँझ पाँच बजेपनि सुरु भएको छैन ।
राष्ट्रिय सम्मलेनको बन्दसत्र सुरु हुनुअघिसम्म ३४ जिल्ला कमिटीले मात्र पार्टी सदस्यताको लेबी बुझाएका छन्। बहुमत जिल्लाहरुले सदस्यता शुल्क बुझाएका छैनन् ।
जिल्ला प्रतिनिधिहरुको आधिकारिता र लेबी नबुझाएको बिषयमा भएको विवादका कारण दिउँसो १ बजेबाट सुरू हुने भनिएको सम्मेलन पाँच बजे हुने बताइएको छ ।
आज बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तथा विधान मस्यौदा समितिले पनि विधान संशोधन प्रस्ताव पेस गर्ने जनाइएको छ ।
समूहगत छलफल भने शनिबारदेखिमात्र सुरु हुनेछ ।
Comments