नाम एउटै हुँदा सञ्चारमाध्यमले समेत गलत तवरबाट समाचार दिएपछि डा. गोपाल सिवाकोटी ‘चिन्तन’ले खण्डन गरेका छन् ।
एमाओवादीको काठमाडौं जिल्ला सम्मेलनमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि तथा पर्यवेक्षकमा प्राध्यापक डा. गोपाल सिवाकोटी पराजित भएकोमा मिडियाले भने डा. गोपाल सिवाकोटी ‘चिन्तन’ पराजित भएको भनेर गलत खबर छापेका थिए ।
त्यसै विषयमा चिन्तनले वक्तव्यमार्फत आफू मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा आवद्ध भएको र प्रा.डा. सिवाकोटी भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीमा भएको भनेर स्पष्ट समेत पारेका छन् ।
उनको वक्तव्य यस्तो छः
मिडियामा दुई माओवादीका दुई गोपाल सिवाकोटीबारे सानो भ्रम
गत बैशाख १६ गतेका दिन छापिएका विभिन्न पत्रिका र अनलाइन समाचारमा एनेकपा (माओवादी) को राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिहरुको निर्वाचनमा हार्ने व्यक्तिहरुमा मेरो नाम पनि छापिएछ । देशैभरिबाट फोन आयो ‘के उदेक भएको हो यो’ भनेर । म भने त्यही दिनसम्म लगातार १० दिन पोखरामै थिएँ । पछि बुझ्दा पो थाहा भयो ती समाचारको मान्छे म आफू नभएर उनै दोलखेली दाई मित्र लेखक प्रा.डा. गोपाल सिवाकोटी पो रहेछन् ।
काम गर्ने एउटा, जस पाउने अर्कोजस्तै भयो । पञ्चायतकालमा हामीलाई खोज्न र थुन्न प्रहरी आउँथे । हामी दुवै जना भने ‘म होइन, ऊ हो’ भन्दै प्रहरीलाई तर्काउथ्यौँ र बच्थ्यौँ । आजसम्म पनि उनका किताब र लेख छापिँदा मलाई बधाइ आउँछ । मेरा छापिए उनलाई बधाइ आउँदो हो । केही समयअघि गोरखापत्रमा छापिएको उनको लेखमा फोटोचाहिँ मेरो परेछ ।
अहिले उनी अध्यक्ष प्रचण्डको एनेकपा (माओवादी) मा छन् भने मचाहिँ नेकपा–माओवादी (अध्यक्ष वैद्य) मा छु । जे होस्, एउटैझैँ लाग्ने हाम्रो नामले हामी दुबै दाजुभाइलाई अंश र रोयल्टी बाँडफाँड गरेबराबर भएको छ । हाम्रो नयाँ नेपालमा कस्तो रमाइलो ! यी दुई पार्टी मिले भने हामी दुई भाई पनि एउटै पार्टीमा समाहित हुने सम्भावनाचाहिँ प्रवल देखिँदैछ है !! परिस्थितिअनुसार मिल्नु र अघि बढ्नु त सँधै राम्रो कुरा हो नि ! कि होइन ?
Comments