काठमाडौं, १९ वैशाख । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले अहिले नेपालमा शान्तिका नाममा सीमित व्यक्तिहरुले ब्रमहलुट गरेको भन्दै स्थायी शान्तिका लागि आवश्यक परे अन्तिम लडाई लड्न तयार रहेको बताएका छन् । 
१२५औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा विहिबार आयोजित मजदुर सभामा बोल्दै चन्दले वर्षौंदेखि नेपाली जनताले साँचेको शान्तिको सपनालाई संसदवादीहरुले चुँडेर सिध्याएको आरोप लगाए । अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघको आयोजनामा भएको सभामा चन्दले भने, ‘शान्तिविरोधी आफूलाई खुव शान्तिप्रेमी भएको नाटक देखाइरहेका छन्, वास्तवमा उनीहरु शान्तिको नाममा मुलुकमा ब्रम्हलुट गरिरहेका छन् ।’ 
आफ्नो पार्टी स्थायी शान्तिका पक्षमा रहेको बताउँदै उनले यदि नक्कली शान्तिका नाममा राज्यलाई खोक्रो बनाउने र मजदुरलाई प्रताडित गरिन्छ भने आफूले जस्तोसुकै लडाई लड्न पनि तयार भएको बताए । ‘हामीले यत्तिमात्र भनेका छौं कि मजदुर, किसान र गरिव गुरुवाको राज्यसत्ता बनाऔं,’ चन्दले थपे, ‘तर हामीलाई थाहा छ उनीहरु मजदुर किसानलाई सत्ता दिंदैनन् किनकी त्यसो भयो भने उनीहरुको सत्ता गुम्छ ।
कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं नेवाः राज्य समिति इन्चार्ज दिनेश शर्माले मजदुरहरु सँधै परिवर्तनका पक्षधर हुने भन्दै एकपल्ट अन्तिम विजयका लागि मजदुरहरु जुर्मुराउनैपर्ने धारणा राखे ।
अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका केन्द्रीय संयोजक रामदिप आचार्यले सुधारवादी र संशोधनवादीहरुले मजदुर आन्दोलनको मर्म र भावनामाथि तुषारापात गरेको बताए । ‘अहिले हाम्रा अगाडि क्रान्तिकारी मजदुर आन्दोलनको रक्षा र विकास प्रमुख चुनौति हो, रामदिपले भने, ‘अहिलेको यो मे दिवसमा हामी सबैले साँच्चिकै मजदुर मुक्तिको आन्दोलनका लागि लाग्न प्रतिवद्धता व्यक्त गरौं ।’ रत्नपार्कको शान्तिबाटिकामा आयोजना गरिएको मे दिवसको कार्यक्रममा उपत्यकाका हजारौं मजदुरहरुले सहभागिता जनाएका थिए । 
ललितपुरको कुपण्डोल, काठमाडौंको ठमेल र पुरानो बसपार्क एवं भक्तपुरको कोटेश्वरबाट मजदुरहरुको जुलुश शहरका मुख्य मुख्य भाग परिक्रमा गरी शान्तिबाटिकामा पुगेर मजदुर सभामा परिणत भएको थियो । कार्यक्रममा सेन चेन परिवारले मजदुरका गीत गाएर मनोरञ्जन प्रदान गरेको थियो । अमेरिकाको सिकागो शहरमा आजभन्दा १ सय १४ वर्षअघि त्यहाँका मजदुरले अधिकारका निम्ति ऐतिहासिक विद्रोह गरेका थिए । 
सो विद्रोहसामु तत्कालीन सत्ता झुकेर मजदुरलाई ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार दिन बाध्य भएको थियो । सोही विद्रोह र विजयको सम्झनामा विश्वभर मे १ तारिखका दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने प्रचलन छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।