वैशाख १६ । नेपाल स्टक मार्केट (नेम्से) मंगलबार २.०९ अंकले बढेको छ । सोमबार साढे चार अंकले घटेको सेयर बजार मंगबार भने इन्स्योरेनस कम्पनीहरुको समूह बढेपछि सुधार देखिएको हो ।

केही समयदेखि इन्स्योरेन्स कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण अझै पनि उच्च नै देखिन्छ । मंगलबार यो इन्स्योरेन्स समूहमा राष्टिय बीमा संस्थान बाहेक प्राय सबै हरियोमा बन्द भए । सरकारी स्वामित्वको राष्ट्रिय बीमा सस्थानको सेयर प्रतिकित्ता चार सय ६० रुपैयाले घट्यो भने नेपाल लाईफ, नेशनल लाईफ, एशियन लाइफ, प्रोडेन्सियल, प्राइम लाईफलगायतका इन्स्योरेन्सको सेयर मुल्य निकै उकालो लागेको छ ।
मंगलबार बजारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक समूहमा भने सुधार हुन सकेन । एभरेष्ट, बैंक अफ काठमाण्डू, हिमालयन बैंक, एनआईसी एशिया, सनराइज बैंकलगायतको सेयर मुल्य घटेको छ । माछापुच्छ्रे बैंकको सेयर मुल्य भने प्रतिकित्ता २६ रुपैयाले बढेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता २४ रुपैयाँले बढ्यो । इन्भेष्टमेन्टको मंगलबार नै तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको थियो ।

यता, चिलिमे, बुटवल पावर र सानिमामाईको सेयर मुल्य थोरै मात्रामा उकालो नै लागेको छ । मंगलबार फाइनान्स समूहमा सामान्य सुधार देखियो भने सोल्टी होटलको सेयर मुल्य केही घटेपनि तारागाँउ रिजेन्सीको उछालले होटल समूहलाई माथि उठायो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।