हामी धेरै स्वाङ पार्छौं।
साइकलमा हिड्दा हाम्रो इज्जत जान्छ त्यसैले गाडीको लावा लस्कर लगाएर एक्लै सडकमा हिड्छौं।
साइकलमा हिड्नेलाई भुसुना गन्दैनौं तर पजेरोमा हिड्नेले फालेको धुवाँले अनुहार कालो बनाईदिदा पनि हामी उसलाई ढोग्छौं।
हाम्रो बानी !
प्रस्तुत माथिका वाक्यहरु र तस्बीर बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार मेघराज रसाईलीको फेसबुक वालबाट लिइएको हो ।
जुन सुरुको तस्बीरमा यो बन्द होइन, हाम्रा राष्ट्रपतिको सवारी भनेर उल्लेख गरिएको छ भने दोस्रोमा भने डच प्रधानमन्त्री चार दिन अगाडी अमेरिकी राष्ट्रपति बाराक ओबालाई भेट्न जाँदै भनेर साइकलमा चढेको तस्बीर देखाइएको छ ।
नेपालका उच्च ओहोदामा रहेका व्यक्तिहरुको सवारी हुँदा सर्वसाधरणलाई बाटो छेक्ने पुरानो परम्परा अहिले पनि उस्तै रहँदा यसरी सर्वसाधरण जननिर्वाचित राष्ट्रपति तथा उच्च पदस्थ व्यक्तित्वहरुसँग असन्तुष्ट हुँदै आएपनि त्यो पदमा रहेकाहरुले भने चासो देखाएको पाइएको छैन ।
यसअघि पनि उच्च पदस्थ व्यक्तित्वहरुको सवारीमा बाटो छेक्दा सर्वसाधरणले दुःख पाएको सम्बन्धी सामग्री हेलोखबरले प्रकाशित गर्दै आएको छ । सैनिक दिवसका दिन फोटो फिचरसहितको सामग्री प्रकाशित गरेको थियो ।
त्यसको केही दिनपछि भने प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो सवारीमा सुरक्षा निकायले सडकमा सार्वजनिक यातायात र नीजि गाडी गुडाउन लगाएको रोकप्रति असन्तुष्टि जनाउँदै त्यस्तो कार्य रोक्न आग्रह गरेका थिए ।
वर्षदिन अगाडी नै राष्ट्रपति डा. रामवरण यादवले भने आफ्नो सवारीका बेला सर्वसाधरणलाई बाटो छेकेर दुःख नदिनु भन्ने समाचार आएको थियो । तर, सर्वसाधरणले भने राजा महाराजाको पालादेखि बाटो छेक्ने चलन अहिले पनि भोग्दै आएका छन् ।
जनताको सुविधा पहिलो प्राथमिकता भएको भन्दै उतिबेला जनतालाई दुःख दिने काम गर्नु हुँदैन भन्दै प्रधानमन्त्री कोइराला म्यानमार गएका थिए । कोइरालाले यस्तो परम्परा अन्त्य गर्नुपर्ने र आफू म्यानमारबाट फर्केपछि यो विषयमा ध्यान दिने बताएको भएपनि यो विषयले अझै प्राथमिकता पाउन सकेको छैन !
Comments