विनय कसजु
गएको शुक्रबार साढे तीन बजेतिर अपराध अनुसन्धान महाशाखा हनुमानढोकाबाट तीन जना प्रहरी घरमा आई मेरो कम्प्युटर र मलाई गाडीमा हाली झन्डै आधा बाटोसम्म लगेर आधा घन्टा जति बाटोमा रोकेपछि मलाई घरमा फर्काए । तर कम्प्युटर लिएर गए । कम्प्युटर नभएको हुँदा मैले उक्त घटना नेपालीमा लेख्न पाइन र आइप्याडमा अंग्रेजीमा लेखेर फेसबुकमा पोस्ट गरेको थिएँ ।
आज विहान १० बजेपछि राष्ट्रिय सूचना आयोगमा काम गर्दा मेरा सहकर्मी कानुन व्यवसायी श्रीमती सविता भण्डारी बराल र सूचनाको हकका अभियन्ता र कानुन व्यवसायी श्री टंक अर्यालजी साथै मेरा दुई छोरा र एक बुहारीसँग हनुमानढोका स्थित अपराध अनुसन्धान महाशाखामा पुगेँ । त्यहाँ शाखाका प्रमुख एसएसपी विजय कायस्थ र उपस्थित केही स्टाफसँग सौहाद्रतापूर्ण वातावरणमा छलफल भयो । मलाई अपहरण शैलीमा गिरफ्तार गरिएको, कुनै पक्राउ पूर्जी वा जानकारी नदिएको र मलाई गिरफ्तार गरेर झन्डै एक घन्टामा छाडिएको, मेरो कम्प्युटर जफत गर्नाले मेरो अभिव्यक्ति स्वतन्त्रता हनन भएको विषयमा लामो कुरा कानी भयो । महाशाखाको काम गर्ने शैली र केही वाध्यताहरुबारे पनि कुरा भयो ।
यता वार्ता चल्दै गर्दा अर्को कोठामा मेरा छोराहरुसँग मेरो वेबसाइट www.cmr.org.np का सम्बन्धमा सोधपुछ गर्ने काम चलिरह्यो । बीचबीचमा म पनि सोधपुछमा सहभागी भएँ । कान्तिपुरको वेबसाइटमा राखिने गुगल एडसेन्स (विज्ञापन) बाट हुने प्रतिमहिना आम्दानी घटेको हुँदा पैसा कता गयो ? कुनै ह्याकरले नक्कली खाता खोलेर कान्तिपरको आम्दानी आफ्नो खातामा राख्यो कि भन्ने शंकाले कान्तिपुरको जाहेरीमा यो अनुसन्धान भइरहेको रहेछ ।
अनुसन्धानको क्रममा कान्तिपुरको वेबसाइट बनाउने संस्था योमरीका सफ्टवेयर डेभ्लप गर्ने पहिलेका कर्मचारी प्रविण कर्माचार्य, जसले कान्तिपुरको वेबसाइट बनाएको भनिन्छ, उनलाई ४ गते बनेपाबाट गिरफ्तार गरी ल्याएको रहेछ ।
अनुसन्धानकर्ताले अनुसन्धानका लागि थुनामा राखिएका उक्त डेभ्लपरलाई बोलाएर मेरो वेबसाइट र हामीहरुको फेसबुक र जीमेल पास वर्ड दिई लगइन गरेर हेर्न लगाए । उनले हामीसँग केही प्रश्न गर्दै वेबसाइट र फेसबुक भित्र हेर्दै थिए । एक जना अभियुक्तबाट त्यही केसको अनुसन्धान गराएको र हामीलाई उनैले प्रश्न गर्दै हाम्रो वेबसाइट र फेसबुक हेरेको चित्त बुझेन । यसको मैले विरोध गरेँ ।
वास्तवमा गुगलले कान्तिपुरलाई कुन खातामा कसको खातामा पैसा पठायो भन्ने कुरा पत्ता लगाउनु कुनै गाह्रो कुरा होइन । गुगल कम्पनीसँग आधिकारिक व्यक्ति वा कम्पनी, कान्तिपुर वा प्रहरीले सोझै पत्राचार गरी यो कुरा बुझ्न सक्छ । यस्तो कुरामा पनि शंकाको भरमा वेबसाइट संचालन गर्ने व्यक्ति र कम्पनीलाई दुःख दिनु निश्चय नै आजको युगमा लज्जास्पद कुरा हो । यसैले अनुसन्धानकर्ताहरुलाई तत्सम्बन्धी प्रशिक्षणको तत्काल अति आवश्यक छ ।
एकछिन पछि प्रविण कर्माचार्यलाई म्याद थप गर्न अदालतमा लगियो । अनुसन्धानकर्ताले हामीसँग थप सोधपुछ गरेपछि कुनै शंकास्पद कुरा भेटाएनन् । यो सबै काम महाशाखाकै कम्प्युटरमा भएको थियो । त्यसपछि मेरो कम्प्युटर मलाई फिर्ता दिए । मेरो कम्प्युटर खोलिएको र जाँचिएको थिएन । घरमा ल्याएर हेर्दा कुनै म्यानिपुलेसन देखिन । तीन बजेपछि हामी हनुमानढोकाबाट बिदा भयौँ ।
साइबर अपराध नयाँ विषय भएकोले सानोतिनो शंकामा पनि गम्भीर आरोप र अपराधीलाई जस्तो व्यवहार हुने गरेको पाइन्छ ।
राज्यको अपराध अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्नु र त्यसलाई सघाउनु सामान्य काम र नागरिकको कर्तव्य पनि हो । तर यो काम विधिसम्मत र सभ्य तरिकाले हुनु पर्छ । नागरिकको मानवअधिकार हनन हुने र सम्मानमा चोट लाग्ने गरी गरिनु हुँदैन ।
पंचायत कालमा म गिरफ्तार हुँदा मलाई कुन विषयमा पक्राउ गरिएको भन्ने पत्र, पक्राउपुर्जी दिइएको थियो । यो घटनामा मेरो सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको छ साथै काम गर्ने अधिकार पनि केही समयको लागि खोसिएको थियो । लोकतान्त्रिक मुलुकमा नागरिकको सम्मान र कानुनको राज्य हुनु आवश्यक छ ।
मलाइ प्रहरीले गिरफ्तार गरेको र कम्प्युटर जपफत गरिएकोमा मेरो मानवअधिकार हनन भएको विषयमा अावाज उठाउनु हुने तथा फेसबुकमा मलाइ हाैसला दिने, सहानुभूति जनाउने, सहयाेग गर्नुहुने र मलाइ साथ दिन कम्मर कस्ने सबै मित्रहरूप्रति अाभार र धन्यवाद ज्ञापन गर्छु ।

राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कसजुको फेसबुकबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।