काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण आजको नियमित कारोबार सत्र नै स्थगित गरिएको हो।
नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनका लागि प्रयोग हुने पूर्वाधारसँग सम्बन्धित डाटा हब प्रा.लि.मा समस्या देखिएपछि सेयर कारोबार प्रभावित भएको हो। डाटा हबमा नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएका छन्।
नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको र समाधानका लागि पहल भइरहेको भए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको जनाएको छ।
नेप्सेका अनुसार यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकाले आजको नियमित कारोबार सत्र स्थगित गरिएको हो।
तर, यो प्राविधिक समस्या मात्र हो वा यसमा साइबर आक्रमणसमेत जोडिएको हो भन्ने विषयमा भने थप प्रश्न उठेको छ।
डाटा हबमा रहेको सेयर कारोबारसँग सम्बन्धित लगानीकर्ता तथा कारोबार सदस्यका कति र कस्ता विवरणमा अनधिकृत पहुँच पुगेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट सार्वजनिक गरिएको छैन। ह्याकरले कति गहिराइसम्म पहुँच बनाएको र समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने विषयमा पनि डाटा हबबाट विस्तृत जानकारी सार्वजनिक भएको छैन।
यदि प्रणालीमा रहेका डाटा केवल इन्क्रिप्ट भएका हुन् भने त्यसको सुरक्षा कायम रहन सक्छ। तर, डाटा चोरी भएको पुष्टि भएमा लाखाैं लगानीकर्ता तथा सर्वसाधारणका व्यक्तिगत विवरण, बैंकिङ तथा आर्थिक गतिविधिका विषय र कारोबारसम्बन्धी अभिलेख तथा अन्य संवेदनशील सूचनाको दुरुपयोग हुन सक्ने जोखिम रहन्छ।
सोमबार दिउँसोसम्म टीएमएस वेबसाइटसमेत सञ्चालनमा आएका छैनन्। वेबसाइट खोल्दा ‘503 Server Unavailable’ भन्ने सन्देश देखिने गरेको छ।
यसले समस्या डाटा सेन्टरमा मात्रै सीमित छ वा टीएमएससहितको कारोबार पूर्वाधारमा समेत असर परेको छ भन्ने विषयमा थप चासो बढाएको छ।
अहिले मुख्य प्रश्न भनेको डाटा हबमा वास्तवमा के भएको हो, ह्याकरको पहुँच कति टाढासम्म पुगेको छ, लगानीकर्ताका कति विवरण सुरक्षित छन् र सेयर कारोबार कहिलेबाट पुनः सञ्चालन हुन्छ भन्ने हो। यी प्रश्नको स्पष्ट जवाफ डाटा हब, नेप्से तथा सम्बन्धित निकायबाट सार्वजनिक गरिएकाे छैन ।




