काठमाडौ, ५ चैत । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले बस्ने घर र उत्पादन गर्ने ठाउँ नभएका सुकुम्वासीहरुको समस्या राज्यले हल नगर्दासम्म नेपालमा परिवर्तन नहुने दावी गरेका छन् । उनले राजधानीको संवाद डवलीमा भने, ‘सुकुम्वासी समस्या नेपालको मुख्य समस्या मध्येको एक हो ।’
अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संगठनले ‘सुकुम्वासी समस्या र दीर्घकालीन समाधान’ का सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गजुरेलले सुकुम्वासी समस्या कृषि क्रान्तिको समस्या भएको बताए । उनले सुकुम्वासीसँग केही नभएकाले सबभन्दा बढी क्रान्तिकारी शक्ति भएको टिप्पणी गरे ।
‘एमालेले लालपुर्जा बाँडेजस्तो गरेर सुकुमवासी समस्या हल हुँदैन’ उनले भने, ‘सुकुमवासी वर्ग राख्नै हुँदैन ।’ उनको विचारमा सुकुमवासी समस्या हल गर्न जमिन मात्र दिन पदैन, रोजगार दिए पुग्छ ।
सुकुमवासी समस्या सामन्ती मुलुकमा हुने र त्यसको समस्या कृषि क्रान्ति नभएको क्षेत्रमा हुने बताउँदै उनले भने, ‘हामी सबै मिलेर क्रान्ति गरौ, हदवन्दी कायम गरौ, त्यसपछि यसको समस्या समाधान हुनेछ ।’ उपाध्यक्ष गजुरेलले यसको फैसला क्रान्तिले गर्ने पनि जिकिर गरे ।
एमाले निकट सुकुम्वासी नेता नारायण परिश्रमीले राज्यले आफुहरुलाई नागरिकको रुपमा ब्यवहार नगरेको बताए । उनले एमाले, काँग्रेस, एमाओवादीले सुकुम्वासी समस्या समाधान गर्न वर्गीय रुपले गर्न नचाहेकोमा आपत्ति जनाए ।
सोही कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी सुकुमवासी संगठनका अध्यक्ष पदम देवकोटा, सर्वहारा कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष भावना विद्रोही, नव जनवादी मोर्चाका महासचिव कुलवहादुर मोक्तान लगायतल सुकुमवासी समस्या सुकुमवासीको मात्र नभएको बताए । उनीहरुले जनवादी सत्ता आएपछि मात्र नेपालमा सुकुमवासी समस्या हल हुने दावी गरेका थिए ।
Comments