काठमाडौं ३ फागुन
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकताको समस्या सतहमै देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री बने भने उनको मन्त्रीपरिषदमा माओवादीका कोही पनि मन्त्री सहभागी भएनन् । अन्तिममा ओलीले एमालेका मन्त्रीलाई मात्रै समेटेर सानो आकारको मन्त्रीमण्डल बिहीबार नै विस्तार गरे । तर, सरकार गठनमा समर्थन गरेको माओवादीका कोही मन्त्री मन्त्री भने सहभागीता रहेन ।
एकताको मूलभुत विषय नटुंगिदासम्म माओवादी सरकार बाहिरै
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेको नेकपा माओवादी केन्द्र एकतापछि मात्रै सरकारमा सहभागी हुने भएको छ ।
पार्टी एकता संयोजन समितिको बैठकमा दुई पार्टीबिच मार्ग निर्देशक सिद्धान्तको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्रले एकताको आधारभूत विषय टुंगोप लागेछि मात्र सरकारमा सहभागी हुने अडान राखेको हो ।
ओलीलाई प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष समर्थनको पत्र पठाएको माओवादी केन्द्रले मन्त्रीमण्डलमा भने सहभागिता जनाएको छैन । एकताको विषय टुंगिएपछि मात्रै सहभागिता जनाउने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको टुंगो लागेपछि मात्रै माओवादी मन्त्रीहरु सरकारमा सहभागी हुने बताएका छन् । सरकार गठन लगत्तै बिहीबार नै सिन्धुली पुगेका दाहालले एकताको विषय अन्तिम चरणमा पुगेको भन्दै निष्कर्षपछि माओवादी सरकार सामेल हुने बताए ।
एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्ति भए भने उनले एमालेका लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्रीको रुपमा सपथ ग्रहण गराउँदै मन्त्रीमण्डल समेत विस्तार गरे । माओवादी केन्द्रले भने एकताको विषयमा आधारभूत खाका तयार नहुँदासम्म सरकारमा सहभागी नहुने अडान राखेपछि एमाले मन्त्रीको मात्र सहभागितामा मन्त्रीमण्डल बन्न पुगेको छ ।
एमालेले जबज नछाड्दा समस्या
दुई दलबिच एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त के रहने भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमालेले बुधबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा जनताको बहुदलिय जनवाद (जबज) लाई एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्तका रुपमा उल्लेख गर्नुपर्ने अडान राखेको थियो । एमालेले जबसलाई मार्गनिर्देशक सिद्धान्तमा रुपमा उल्लेख गरिए माओवाद पनि राख्नुपर्ने माओवादी नेताहरुले अडान राखेका थिए । समितिको बैठकबाट बाहिरिदैं माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वैचारिक तथा सैद्धान्तिक विषयमा केही सहमति जुटाउन बाँकी रहेको बताएका थिए ।
माओवादी केन्द्र आफूले अंगिकृत गर्दै आएको माओवाद तथा एक्काइसौं शताब्दीको जनवादलाई छाडेर माक्र्सवाद लेलिनवाद (माले) लाई मार्ग निर्देशक सिद्धान्त मान्न लचक देखिए पनि एमाले नेताहरु भने जबज नछाड्ने पक्षमा देखिएका छन् । एमालेले जबजलाई छाड्न नचाहेपछि एकताको विषय समेत अड्किन पुगेको छ भने त्यसको असर मन्त्रीमण्डल विस्तारका क्रममा समेत देखिएको छ । दुई अध्यक्ष तहमा दुवै पार्टीले अंगिकृत गर्दै आएको सिद्धान्तलाई छाडेर माक्र्सवाद लेलिनवाद (माले) मान्न सहमत भएपनि एकता संयोजन समितिको बैठकमा एमाले नेताहरुले जबज छाड्न नसक्ने अडान राखेका थिए ।