बुटवल, ५ फागुन । प्रदेश सरकार तथा सभामुख उपसभामुख धमाधम चुनिरहेको अवस्थामा संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म कहीँ पनि दाबी गरेको छैन । वाम गठबन्धनका कारण दाबी गरे पनि पराजित हुने भएपछि उसले उम्मेदवरी नै नदिदैं आएको हो ।
तर, प्रदेश नं ५ को उपसभामुख पदका लागि नेपाली काँग्रेसकी रिना खनाल विकले उम्मेदवारी दर्ता गराएकी छिन् ।

काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन ।
उनको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र अर्का सदस्य रमा अर्याल समर्थक रहेका छन् ।

यसअघि आजै नेकपा एमाले प्रदेशसभा सदस्य कृष्णी थारुले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका थिए । आइतबार बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ ।

प्रदेशसभामा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनको प्रष्ट बहुमत रहेकाले कांग्रेस उम्मेदवार विजयी हुने सम्भावना भने छैन । प्रदेशसभाका ८७ सदस्यमध्ये एमालेका ४१, माओवादी केन्द्रका २० र नेपाली काँग्रेस १९, संघीय समाजवादी फोरमका पाँच, राष्ट्रिय जनमोर्चाका एक र राजपाको एक सदस्य छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।