चितवन ८ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको एउटा बैठकमा केपी ओली र अर्को बैठकमा आफूले अध्यक्षत गर्ने बताएका छन् ।
उनले एकिकरण पछिको पार्टीको अध्यक्षता आलोपालो गर्ने र प्रधानमन्त्री आलोपालो गर्ने बिषय पार्टीको महाधीवेशनले टुङ्ग्याउने बताए । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने निर्णयसहित प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेको भोलीपल्ट मंगलबार चितवन आएका दहालले भने “अहिलेलाई केपी ओली नै पाँच बर्षका लागि प्रधानमन्त्री हो,थप बिषय महाधिवेशनले नै टुङ्ग्याउछ ।”
दूई बर्ष भित्र महाधिवेशन हुने बताउदै उनले महाधीवेशनसम्म पार्टीको अध्यक्ष दुवै जना रहने बताए । वैधानिक रुपमा पार्टी दर्ता नभएपनि सोमवार रातीबाट नै पार्टी एकीकरण भई सकेकोले निर्वाचन आयोगमा दर्ता गरेपछि कानुनी रुपमा हुने भएपनि सैद्धान्तिक रुपमा नेपाल कम्यूनिष्ट पार्टी भैसकेको बताए । “सैद्धान्तिक र राजनीतिक हिसाबले केपी ओली र म दुवै नयाँ पार्टीको अध्यक्ष भएका छौं ।” उनले भने “सैद्धान्तिक, राजनीतिक र व्यवहारिक अर्थमा हामी नेपाल कम्युनिष्ट पार्टी भैसक्यौं ।”
बैठकको अध्यक्षता कसरी गर्ने ? भन्ने विषय पत्रकारको जिज्ञासामा उनले भने “अध्यक्ष मात्रै होइन, बैठकको अध्यक्षता कसरी गर्ने भन्ने पनि टुंगो लागिसकेको छ । एउटा बैठकमा उहाँले अध्यक्षता गर्नुहुन्छ । अर्काेमा मैले अध्यक्षता गर्छु ।” दुई कम्युनिष्ट पार्टी एकीकरणपछि नेपाली जनताको समृद्धिको सपना अब साकार हुने बताउँदै उनले भने “यो राष्ट्रको हितमा र नेपाली जनताको समृद्धिको हितमा नेपालमा सुशासन स्थापना गर्ने हितमा यो सबैले गर्व गर्न लायक एकीकरण भएको छ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।