काठमाडाैं १९ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा दुवैै पार्टीका सांसदलाई प्रशिक्षण दिँदैछन् । यसअघि दुई पार्टीकाे शिर्ष तहकाे बैठकले प्रशिक्षण दिने निर्णय गरेकाे थियाे । उनीहरूले शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रशिक्षण दिन लागेका हुन् ।

एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई पार्टीको वैचारिक लाइनसँगै संसद्को प्राविधिक पक्षका विषयमा प्रशिक्षण दिने बताइकाे छ । अाेली–प्रचण्डले यसअघि निर्वाचनमा चुनावी प्रचारसँगै घोषणापत्र सार्वजनिक गरे पनि सांसदहरूलाई पहिलोपटक प्रशिक्षणसहित निर्देशन दिन लागेका हुन् ।
सांसदलाई संसदीय अभ्यासको ज्ञान कम हुन सक्ने भएकाले यस्तो गरिएको हो । संसद्मा कसरी बस्ने, कसरी बोल्ने, कसरी प्रस्तुत हुनेलगायत सामान्य विषयमा पनि जानकारी दिने जनाइएको छ । प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, राष्ट्रिय सभामा २७ जना सदस्य छन् । यस्तै, माओवादी केन्द्रका प्रतिनिधिसभामा ५३ जना र राष्ट्रिय सभामा १३ सदस्य छन् ।
दुई पार्टीले प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभामा संयुक्त रूपमा चुनाव लडेका थिए । पार्टी एकताका लागि दुई पार्टीले कार्यदल समेत बनाएर काम गरिरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।