काठमाडौं २० फागुन
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अाज मनाेनयन हुँदैछ । संसदीय दलको निर्वाचनका लागि आज मनाेनयन र भाेलि निर्वाचन हुने भएपनि सर्वसहमतिबाट अाजै छिनाेफानाे गर्नेमा सभापति शेरबहादुर देउवा निटकका नेताहरू लागेका छन् ।
कांग्रेस सभापति देउवाले आफ्ना प्रतिस्पर्धीका रुपमा उम्मेदवारी दिन लागेका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उम्मेदवारी उठ्नै नदिई सर्वसम्मत बनाउने प्रयासलाई तिब्रता दिएका हुन् । सम्भव भएसम्म आजै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उम्मेदवारी रोकेर सर्वसम्मत गर्ने दाउमा देउवा छन् ।
सिंहलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमति जुटाउन चर्को रुपमा लागिरहेका हुन् । शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेता देउवालाई सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए ।
पार्टीले संकटको सामना गरिरहेका बेला एकता जरुरी रहेको र एकताको सन्देश दिनका लागि समेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उनीहरुले नेता पौडेलसँग उपनेता सिंहलाई बनाउने गरी मनाउन आग्रह गरेका हुन् । देउवा निकटका नेताहरु सहमतिबाटै दलको नेता चयन गर्न भन्दै आज पनि बिहानैदेखि भेटघाटमा लागिपरेका छन् । पौडेल पक्षका नेताहरुले प्रतिस्पर्धा गर्ने कि सहमति गर्ने भन्ने अन्तिम निर्णय भने गरिसकेका छैनन् ।