काठमाडौं २३ फागुन
राष्ट्रपति चयनका लागि आगामी २९ गते निर्वाचन हुँदैछ । जसमा वाम गठबन्धनबाट विद्यादेवी भण्डारीले नै उम्मेदवारी दिने भएकी छिन् भने कांग्रेसबाट लक्ष्मी राई उम्मेदवार बन्ने भएकी छिन् ।
एमाले र माओवादी केन्द्रबिच राष्ट्रपति र सभामुख दुई संवैधानिक निकाय बाँडफाँडमा राष्ट्रपति एमालेको भागमा परेको छ । राष्ट्रपतिको उम्मेदवार चयन गर्न मंगलबार बसेको एमाले बैठकमा भने चर्काचर्की नै भयो । ६ घण्टा बढी छलफलपछि नेताहरुको असहमतिका बिच विद्यादेवी भण्डारी नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय भएको थियो ।
६ घण्टा निरन्तर बैठक
राष्ट्रपति चयनका लागि मंगलबार बेलुकी ४ बजेपछि मध्यराती १२ बजेसम्म बैठक चलेको थियो । एमाले स्थायी समितिको बैठक लम्बिदैं जाँदा नेताहरुले खाना समेत प्रधानमन्त्री निवास बालुवाटारमा नै खाएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाल र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी दुवैले अडान नछाडेपछि निरन्तर बैठक लम्बिएको थियो । उम्मेदवार छान्न चर्काचर्की समेत भएको थियो । माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले पार्टी सञ्चालनको विधि नभएको, अराजकता बढेको भन्दै चर्को रुपमा प्रस्तुत भएका थिए ।

अन्त्यमा भण्डारी नै उम्मेदवार
भण्डारीले संक्रमणकालका कारण आफूले पुरै कार्यकाल निभाउन नपाएको भन्दै दाबी गरेकी थिइन् । उनले यसअघिका राष्ट्रपतिले पाँच वर्ष नै पदमा बसेको तर आफू आधा पनि बस्न नपाएको भन्दै दाबी गरेकी थिइन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले भण्डारीलाई समर्थन गरेका थिए । झलनाथ खनालले भने एउटै व्यक्ति एउटै पदमा दोहोरिन नहुने भन्दै दाबी प्रस्तुत गरेका थिए । उनको इच्छामा कसैले पनि विरोध भने गर्न सकेनन् । तर, ओली नै जबरजस्ती लागेपछि खनालले टिकट भने पाएनन् ।
उपमहासचिवको नोट अफ डिसेन्ट
पार्टी उपमहासचिव घनश्याम भुसालले भने निर्णयमा असहमति जनाएका छन् । उनले निर्णय प्रक्रियाप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । पार्टी सञ्चालनको प्रक्रिया नभएको भन्दै उनले असहमति जनाएका थिए ।
बैठकमा जसले जे गरे पनि हुने एउटै पदमा जति बस्दा पनि हुने भनेर माधव नेपाल र झलनाथ खनाल समूहका नेताले ओलीको कटाक्ष गरेका थिए । विद्यादेवी भण्डारी अन्तिमसम्म पनि पछि हट्ने कुनै संकेत नै नगरेपछि अन्तिममा झलनाथ नै चुप लाग्न बाध्य भएका थिए । बैठकमा भुसालले पार्टी घोर अराजकतातर्फ गएको भन्दै सच्याउन समेत माग गरेका थिए । तर अध्यक्ष ओलीले अर्को कुनै बैठकमा छुट्टै छलफल गरौं भन्दै विद्याजीको नाममा विवाद नगरौं भनेका थिए ।