काठमाडौं २ चैत । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराको प्रेस कमाण्डको जिम्मा प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लले पाउने भएका छन् । सभामुखको प्रेस सल्लाहकारको भूमिकामा रहेर काम गर्न मल्ल दाङबाट काठमाडौं बाटो लागेका छन् । महरा दाङबाट निर्वाचन लड्न पूर्व नै नियुत्तिका बेला ५० प्रतिशत हिस्सा दाङले पाउने जनाएका थिए । प्रेस सेन्टर चार नम्बर प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पनि सभामुखको प्रेस सल्लाहकारका लागि लबिङ गर्दै आएका थिए । प्रेस सेन्टर दाङले मल्ललाई निर्णय नै गरेर पठाएपछि पौडेल पछि परेका छन् । महरा अर्थमन्त्री हुँदा पौडेलले प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए ।
को हुन् मल्ल
दाङमा बसेर पत्रकारिता गर्दै आएका मल्ल प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष हुन् भने पत्रकार महासंघ दाङका उपाध्यक्ष हुन् । बिएसम्मको अध्ययन गरेका मल्ल नौलो जनउभर साप्ताहिकका सम्पादक समेत हुन् । केही समय अगाडी गोरखापत्रमा जोडिएर राष्ट्रिय पत्रकारितामा हात हालेपनि नयाँ सरकारसँगै उनलाई हटाइएको थियो ।
चुनौती
मोफसलमा बसेर पत्रकारिता गर्दै आएका मल्ललाई सभामुखको प्रेस सल्लाहकारको रुपमा भूमिका निर्वाह गर्नु सजिलो भने छैन । संसदिय मामिला विशिष्टकृत विधा भएकाले यस मामिलामा कलम चलाउने पत्रकारहरुसँग उनले समन्वय गर्न नसकेमा सचिवालय असफल बन्ने समेत देखिन्छ । संसदमा उत्पन्न हुने कतिपय विशेष घटनामा उनले मिडियासँग समन्वयकर्ताको भूमिका कसरी निभाउछन् भन्ने हुन्छ । संसदको विशेष प्रक्रिया वा प्राविधिक विषयहरुमाथि उनले आफूलाई कति अपडेट राख्न सक्छन् त्यसले पनि उनको भूमिकाको नतिजा देखाउनेछ ।
यसअघि, मन्त्री तथा अन्य निकायमा प्रेस सल्लाहकारको भूमिका मात्र जागिर खाने सरह जस्तै मात्रै रहँदै आएको छ । अझ रासस, रेडियो नेपाल, गोरखापत्रबाट पत्रकारलाई ल्याउने र जागिर खुवाउने तर काम भने शून्य जस्तै रहदैं आएका उदाहरण बढी भेटिन्छन् ।
मल्ल मिजासिला र इमान्दार पत्रकारका रुपमा गनिने हुँदा उनको भूमिका निष्पक्ष हुने अनुमान गर्न सकिन्छ । तर, संसदिय मामिला पत्रकारहरु नै अहिले दुई कित्तामा औपचारिक रुपमा विभाजनको स्थितिमा पुगेका छन् ।
पुरानो कार्यसमितिले एकलौटी र मनोमानी काम गरेको भन्दै प्रेस युनियनको नेतृत्वमा अन्य संगठनका पत्रकार समेत सहभागी भएर छुट्टै समिति गठनको तयारी समेत छ । यसले सचिवालयलाई केही चुनौती अवश्य पनि थपेको छ । निकट भविष्यमा नै वाम गठबन्धन र विपक्षी दल निकट पत्रकारकाहरुको अलग अलग संस्था संसदमा जन्मिने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।