काठमाडाैं । धुमुर्स सुन्तली फाउन्डेसनमार्फत यो वर्ष रौटहटमा गरिब दुःखीका लागि सन्तपुर नमुना वस्ती निर्माण गरेर हालै हस्तान्तरण गरेका हास्य व्यंग्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) वर्ष पुरुष र महिला व्यक्तिका रूपमा सम्मानित भएका छन् ।

प्रविशा प्रकाशनले फिल्मी खबर साप्ताहिकले नवौं वर्ष प्रारम्भ गरेको अवसरमा बिहीबार राजधानीमा एक समारोहबीच सीताराम र कुञ्जनालाई ‘वर्ष व्यक्ति कलाकार–२०७४’बाट सम्मानित गरेको हो । सामाजिक अभियान्ताका रूपमा समेत परिचित सीताराम कट्टेल (पुरुष) तर्फ र कुञ्जना घिमिरे (महिला) तर्फ वर्ष व्यक्ति घोषित भएका हुन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बाँस्कोटाले यी दुई कलाकारलाई सो सम्मान प्रदान गर्दै भने,‘ विभिन्न स्थानमा चारवटा नमुना बस्ती निर्माण गरेर गरिब तथा भूकम्पपीडितलाई हस्तान्तरण गर्दै सीताराम र कुञ्जनाले सम्पूर्ण कलाकारले शिर उच्च राख्ने काम गरेका छन् । यस्ता कलाकारलाई सम्मान गर्न पाउँदै मलाई साह्रै खुसी लागेको छ ।’

सम्मानपछि सीताराम कट्टेलले कलाकारहरूले पनि मुलुकका लागि सामाजिक कार्य गर्न सक्छन् भनेर आफूहरूले यो प्रयास गरेको बताए । अब आफूले निर्माण गर्न लागेको नमुना नेपालमा सम्पूर्ण कलाकार र देशविदेशमा रहेका नेपालीहरूको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । यस्ता सम्मानले आफूहरूलाई सामाजिक काम गर्न आझ प्रेरित मिल्ने पनि उनले बताए । अब आफूले निर्माण गर्ने नमुना नेपाल परियोजना ६ सय रोपनी जग्गामा ललितपुरमा निर्माण गर्ने र त्यो ठाउँ विश्वका पर्यटकका लागि आकर्षक थलो बन्ने पनि सीतारामले जानकारी गराए ।

कलाकार कुञ्जना घिमिरेले आफूहरूले निर्माण गरेको पारियोजनाको बारेमा जानकारी गराउँदै नयाँ परियोजना नमुना नेपाललाई बृहत् रूपमा बनाउनको सबैको साथको आग्रह गरिन् । आफूहरूले सामाजिक कार्यलाई निरन्रता दिने पनि उनले प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष केशव भट्टराई, अग्रज अभिनेत्री चैत्यदेवी, लेखक÷निर्देशक मोहन निरौलालगायतले धुर्मुस सुन्तलीको योगदानको चर्चा गरे ।

कार्यक्रमका सभापति एवं फिल्मी खबर साप्ताहिकका सम्पादक शान्तिप्रियले छैटौं वर्ष पुरुष र वर्ष महिला कलाकार अभिनयभन्दा पनि सामाजिक कामको आधारमा सीताराम र कुञ्जनालाई सम्मानित गरिएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।