काठमाडौं ९ चैत । ‘आज पनि सोध्न मन लाग्छ बालकृष्ण ढुङ्गेल जेल बस्नुपर्ने तर अरु छाती चौडा गरेर घुम्नुपर्ने कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘‘देशमा कम्युनिष्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यहि गणतन्त्रका लागि लडेका एउटा योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’ सर्वोच्च अदालतको आदेशमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलद्धारा रचित गीति एल्बम ‘खाली खुट्टे’काे बिमोचान कार्यक्रममा उनकी जेठी छोरी बिनिताको प्रश्न हो यो । ढुंगेल केन्द्रीय कारागारमा जेल सजाय बिताई रहँदा उनीद्धारा रचित गीति एल्बम बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता उनकी जेठी छोरी बिनिताले गरेकी थिइन् । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बाल्यकालको स्मरण गर्दै उनले हल नै स्तब्ध पारिन् । आफ्नो बाल्यकालबारे उनले सुनाउँदा कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला), पूर्वसञ्चारमन्त्री राम कार्की, पूर्वशिक्षा मन्त्री डिआर पौडेलको समेत आँखा रसाएका थिए ।
‘म र मेरी बहिनी कहिलेकाँही आमालाई सोध्थ्यौ–सबैका बुबा घरमा छन् हाम्रो बुबा चाँही खै त ? आमालाई यो प्रश्नले सारै पीडा हुँदोरहेछ ।’ आमाले हामीलाई सम्झाउँथिन्, ‘माओवादी हुनुभएको छ । कुनै दिन आउनुहुन्छ’ कार्यक्रममा बाल्यकाल सम्झिदै उनले भनिन् ।
गाउँमा साथिहरुका बुबाले नयाँ कपडा ल्याउएको देखाउँदा पनि घरमा आएर आमालाई बुवा खोइ भनेर सोध्ने गरेको भन्दै उनले बालकृष्ण ढुंगेलकै छोरी भएकाले बाबुको फोटो हेर्न समेत नपाएको दुखेको सुनाइन् । ‘घरमा सेना र प्रहरीले खानतलासी गर्ने काम सधँैजस्तो गथ्र्यो । आमाले बुबाको फोटा घर पछाडी खाल्डो खनेर लुकाएकी थिइन् । एकदिन त्यो पनि सेनाले थाहा पाएर खाल्डो उधिनेर फोटो नै लग्यो ।’ उनले भावुक शैलीमा भनिन्, ‘त्यसपछि फोटामा भेटेका बुबापनि हामीबाट टाढा भए । बालकृष्ण ढुुङ्गेलका छोरी भएकै कारण हामीले आफ्नो बाबाको फोटो पनि हेर्न पाएनौँ ।’
बिनिताले सुरक्षाका कारण गाउँमा बस्न नसकेपछि काठमाडौंमा आएर आमा ज्यामी काम गर्न थालेको र आफूहरु अनाथालयमा बसेको समेत सुनाइन् । उनले मानव अधिकारवादीलाई आफ्नो मानव अधिकारबारे खोज्न नपर्ने भनेर प्रश्न समेत गरेकी थिइन् ।, उनले भनिन् ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरुले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन ? हुन्छ भने किन खोज्दैनन ?
बिनिताले बुवाको स्वास्थ्य अवस्था साह«ै नाजुक रहेको दुखेको पनि पोखिन् । ‘बुबाको अवस्था नाजुक छ । एउटा मृगौलाले काम गर्दैन । अर्को मृगौलाले २५ प्रतिशतमात्र काम गर्छ’ उनले भनिन् ।
बिनिताले गणतन्त्र ल्याउन लडेकाहरु नै गणतन्त्रमा बस्नुपर्ने भन्दै आक्रोश समेत पोखेकी थिइन् । ‘आज मेरो बुबाले धनसम्पति कमाएको भए सबै भेट्न जान्थे होलान् । तर सम्पत्ति नभएकाले आज केहिबाहेक भेट्न पनि जादैनन् । आज पनि सोध्न मन लाग्छ बालकृष्ण ढुङ्गेल जेल बस्नुपर्ने तर अरु छाती चौडा गरेर घुम्नुपर्ने कस्तो गणतन्त्र हो ?’
कार्यक्रमका प्रमुख अतिथि ब्याकुल माइला, पूर्वसञ्चारमन्त्री कार्की लगायतले ढुंगेलको योगदान र उनले रचेका गीतहरुको प्रशंशा गरेका थिए । ढुंगेल जेलमा हुँदा उनको गीत भने सार्वजनिक गरिएको थियो । चेतन सापकोटाद्धारा संगितवद्ध गरिएका गीति संग्रहमा अन्जु पन्त, शिव परियार लगायतको स्वर रहेको छ । गीति एल्बममा गाउँ घरका दुःख सुखदेखि माया प्रेम तथा जिवन मरण लगायतका विषय समेटिएका छन् ।
ढुङ्गेल छोरीको प्रश्न- ‘गणतन्त्रमा गणतन्त्र ल्याउन लडेका मेरा बुवा चाँही जेल बस्नपर्ने ?’
Comments







