काठमाडौं १२ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयू) लाई मर्यादाभित्र रहेर काम गर्न भनेको छ । मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको भन्दै कांग्रेसले मर्यादाभित्र रहेर काम गर्न चेतावनी दिएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल सार्वभौम राष्ट्र रहेको नभुल्न इयूलाई चेतावनी दिएका थिए ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक रहेको बताएका छन् ।
‘निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्रभन्दा बाहिर गएको छ । उनले भने, ‘मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ ।’
पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि उनले यस्तो बताएका हुन् । बैठकमा रमेश लेखकसहितका नेताहरुले यूरोपियन युनियनको प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए ।