काठमाडौं, १६ चैत । एमाओवादी बरिष्ठ केन्द्रीय सदस्य नेता पोष्टबहादुर बोगटीले अबको माक्र्सवादको रक्षा, प्रयोग र विकास आफ्नो पार्टी एकीकृत माओवादीको काँधमा आएको बताएका छन् । 
गोपाल किरातीद्वारा लिखित ‘राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै नेता बोगटीले विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक चरणमा रहेकोले २१ औं शताब्दीको जनवादले नै यसको प्रयोग र विकास गर्न सक्ने बताए । कार्यक्रममा बोल्दै उनले किरातीको पुस्तक पार्टीको क्रान्तिकारी कार्यदिशाको रक्षाको निम्ति आएको बताए । कार्यक्रममा लेखक तथा नेता किरातीले हेटौंडा महाधिवेशन नयाँ जनवादी क्रान्तिबाट समाजवादी क्रान्तिको घोषणा महाधिवेशन भएको बताउँदै आफ्नो पुस्तकले राष्टिय समाजवादी क्रान्तिका बारेमा प्रकाश पारेको बताए । 
कार्यक्रममा बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले पुस्तकप्रति परिचर्चा गर्दै छलफल योग्य र गम्भीर बिषयमा लेखिएको बताए । उनले देशमा राजतन्त्र गएको तर राजाको ठाउँमा राष्ट्रपतिले कर्मकाण्ड गरिरहेको बताउँदै सबै समुदायको भावना अझै नसमेटिएको बताए । कार्यक्रममा साहित्यका युग पाठकले एमाओवादी नेता कार्यकर्ताहरु सबैका लागि पठनीय पुस्तक भएको बताए । उक्त लोकापर्ण कार्यक्रममा एमाओवादीका बरिष्ठ केन्द्रीय सदस्यहरु लिलामणी पोखरेल, हेमन्तप्रकाश ओली, नेतृ हिसिला यमी, नेतृ उर्मिला अर्याल, केन्द्रीय कार्यालयका सचिव प्रल्हाद बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।