काठमाडौं २२ चैत । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले तीन दिने राजकिय भारत भ्रमणमा जाने तयारीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई विगतका सन्धी सम्झौता कार्यान्वयनमा जोड दिन सुझाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको भारत भ्रमण सद्भाव भ्रमण हुने भएपनि भ्रमणका क्रममा द्धिपक्षीय सन्धी सम्झौता कार्यान्वनमा केन्द्रित हुनुपर्ने जनाएको हो ।
माओवादी केन्द्र पार्टी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पार्टी प्रवक्ता समेत रहेकी सांसद पम्फा भुसालले जानकारी दिइन् । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सांसदहरुलाई छोटो बिफ्रिङ गर्दै प्रधानमन्त्रीको भारत भ्रमण ‘गुडविल भ्रमण’ हुने बताएका थिए । उनले भ्रमण दुई देशबिचको आपसी सम्बन्ध र विश्वासलाई माथि उठाउन केन्द्रित बन्ने समेत जनाएका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा नयाँ दिल्ली जाँदैछ ।
जुनसुकै हालतमा पार्टी एकता : दाहाल
पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विकल्प नभएको र जुन सुकै हालतमा पनि एकता भएरै छाड्ने बताएका छन् । अध्यक्ष दाहालले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर दुई पार्टी एकता गर्ने तयारी भएको समेत जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नै एकताको तयारी गरिए पनि तयारी छोटो भएकाले सम्भव नभएको भन्दै उनले बिहीबारदेखि नै एकता संयोजन समितिमा केही मिलाउन बाँकी विषयमा छलफल थालिने र ९ वैशाखमा एकता हुने बताए । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार अध्यक्ष दाहालले सम्भव भएमा बिहीबार नै पार्टी एकता घोषणा तयारी समिति गठन गरेर ९ वैशाखमा एकताको घोषणा गरिने बताएका थिए ।
अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति केही दिनमै हल हुने समेत बताएका थिए । दुई दलले ७ फागुनमा एकताका सात आधारमा सहमति गर्दै पार्टी एकताको खाका तय गर्न राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र सांगठनिक तथा विधान मस्यौदा कार्यदल गठन गरेका थिए । दुवै कार्यदलले मंगलबार प्रतिवेदन बुझाएका थिए ।
कार्यदलले एकीकृत पार्टीको चुनाव चिन्ह, विधान प्रतिवेदनको प्रारम्भमा जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातका विषयमा सहमति जुटाउन सकेको छैन ।
अध्यक्ष दाहालले कति संख्याको कमिटीहरु बनाउने र कति कति अनुपातमा रहने भन्ने बिहीबारदेखि छलफल गरेर टुंग्याउने बताएका थिए । ‘नेताहरुको व्यवस्थापन मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३ सय २५ पनि हुन सक्छ, ३ सय ५१ समेत पुर्याउन सकिन्छ । अब छलफलबाट टुंगो लाग्छ,’ उनले भने ।