काठमाडौं २३ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यातायात सिन्डिकेटधारीहरुको पक्ष लिएको छ । सरकारले यातायात सिन्डिकेट तोड्ने प्रयास गरिरहेकोमा कांग्रेसले भने घुमाउरो पाराले सिन्डिकेटधारी यातायात व्यवसायीहरुको पक्ष लिएको हो ।
गत २१ गते कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा व्यवसायिक उपर गरिएको धरपकड बन्द गर्न भनेको थियो । सरकारले यातायात सिन्डिकेटको पक्ष लिने र सवारी साधन नचलाउने व्यवसायीमाथि पक्राउ गरिरहेको अवस्थामा कांग्रेसले धरपकड बन्द गर्न भनेको थियो ।
कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पुनः आइतबार सिण्डिकेटको पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई रिहा गर्न सरकारसँग माग गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरी तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले व्यवसायीहरुले आफ्नो माग शान्तिपूर्ण रुपमा अगाडि बढाउँदा सरकारले गिरफ्तार गरेको भन्दै तत्काल यातायात व्यवसायीलाई रिहा गर्न माग गरेको हो । सरकारले यातायात सिन्डिकेट तोडेकोप्रति सर्वसाधरण भने खुसी देखिएका छन् ।