काठमाडौँ, २ जेठ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

मंगलबारसम्मको तथ्यांकअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये रु चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।

निजी आवास पुनःनिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घर पुनःनिर्माण भएको छ । पछिल्लो तथ्यांङअनुसार चार लाख ५३ हजार ६८३ घर पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःनिर्माण भएका हुन् ।
दोलखामा अहिलेसम्म २८ हजार ८०७ घर पुनःनिर्माण भइसकेको छ भने ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुननिर्माण भइरहेको भने २० हजार ९७१ घर निर्माण भइसकेका छन् । कूल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था गरिएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।