वीरगञ्ज, २० असार । विद्युत् सेवा नियमित नहुँदा यहाँका सेवाग्रही मारमा परेका छन् । प्रत्येक पाँचदेखि १० मिनेटमा विद्युत् जाने गरेको र भोल्टेज घटबढ हुनेगरेका कारण कम्प्युटर, ल्यापटप, बल्ब जस्ता उपकरणमा असरपर्ने गरेको तथा कतिपयको इन्र्भटरसमेत चार्ज हुन नसकेकाले यसको प्रत्यक्ष असर सञ्चारकर्मीलाई पर्न गएको छ ।
एउटा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई घण्टाैं लाग्ने गरेको, समयमा पत्रपत्रिका प्रकाशन गर्न समस्या हुने गरेको गुनासो गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले छिनछिनमा विद्युत् जानुको कारण कम्प्युटर लगायतका उपकरण बिग्रिनु, इन्र्भटर चार्ज नहुनु जस्ता समस्या रहेको बताए।
उनले जिम्मेवार निकाय गैरजिम्मेवार भएपछि यसको प्रत्यक्ष असर आम सेवाग्रहीलाई मात्र नभएर सबै भन्दा बढी सञ्चार क्षेत्र प्रभावित भएको बताए ।
यस समबन्धमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख मनिन्द्र ठाकुरले सेवाको गुणस्तरीयता कायम राख्न हामी प्रयत्नशील छौं भने । यो समस्या कहिलेसम्म समाधान हुनेबारे उनले ठोस् जवाफ दिन सक्नुभएन ।
पुरानो ट्रान्सफर, पुरानो तथा खिया लागेका तारका कारण यस्तो स्थीति आएको केन्द्रका एक कर्मचारीले बताए ।
विद्युत् समस्या खेपिरहेका सेवाग्रही तथा सञ्चार माध्यमका प्रतिनिधिले यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने तर्फ सम्बन्धित् निकाय गम्भीर हुनुपर्ने माग गर्दै आएका छन् ।







