ब्राजिली सुपरस्टार खेलाडी नेइमार अहिले विश्वभर सामाजिक सञ्जालमा मजाक बनेका छन् । उनले फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेर भने होइन । बरु, खेलका क्रममा अलिक बढी नै नाटकीपना देखाएको विषयले उनी मजाकका पात्र बन्न पुगेका हुन् ।
मेक्सिको विरुद्ध सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा उनले एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए । यसले उनको खेल कमजोर नदेखाए पनि खेलका क्रममा अलिक बढी नै लडिबढी गर्ने बानीले भने उनी मजाकका पात्र बन्न पुगेका हुन् ।
अहिले विश्वभर सामाजिक सञ्जालमा उनलाई मजाक बनाएर उडाइएको छ । कतिपयले त फुटबल भन्दा पनि फिल्म खेल्न जान आग्रह गर्दै व्यंग्य पनि गरिरहेका छन् । हुन पनि उनी अरु खेलाडी भन्दा अलिक बढी नै लड्ने खेलाडीमा पर्दछन् । लडेपछि अरु खेलाडी भन्दा पनि अलि बढी लडिबढी समेत गर्न भ्याउँछन् । सोमबारको खेलमा टचलाइनमा बल खोस्ने क्रममा खुट्टामा कुल्चिएपछि नेइमार भुईंमा लडिबुडी गर्न थाले । के के न भएजस्तो गरेर लडिबुडी गर्न थालेपछि खेल एकछिन रोकियो र मेडिकल टिम उनको सहयोगमा आयो । उनको खुट्टामा स्प्रे गरिएपछि उनी फेरि उठेर खेल्न थाले ।
के त्यसो भए उनी साँच्चै नाटक गर्छन् त ? सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको मत भने उनी नाटक नै गर्ने रहेको पाइन्छ । तर, फुटबलरहरुले भने उनी पीडा सहन नसक्ने दयनिय देखिएको टिप्पणी गर्ने गरेका छन् ।
नेइमारको ‘नाटकीयपना’को सवर्त्र टिप्पणी हुन थालेपछि न्युक्यासल र इंग्ल्याण्डका पूर्वस्ट्राइकर एलन सियररले पनि प्रतिक्रिया दिएका छन् । ‘उनको क्षमतामाथि कुनै प्रश्न उठ्दैन । हामीले उनको ब्याकहिल पास र उत्कृष्ट फिनिस देख्यौं,’ उनले भने ‘उनी एक उत्कृष्ट खेलाडी हुन् तर, मैदानमा साह्रै नै पीडा भएको झैं लडिबुडी गरेको दयनीय देखिन्छ । आखिर उनलाई किन यस्तो गनुपर्छ जस्तो लाग्छ होला ? ’