चैत्र २ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। नयाँ भाडा दरअनुसार यात्रुले न्यूनतम ६५ देखि अधिकतम २ सय ३५ रुपैयाँसम्म बढी तिर्नुपर्ने छ। उनीहरूले यो वर्ष तेस्रोपटक वृद्धि गरेको खबर नागरिक दैनिकमा छापिएको छ ।
वायुसेवा कम्पनीहरूले सोमबार (चैत ३) बाट लागू हुने गरी हवाई भाडा बढाउने निर्णय गरेका हुन्। नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर ४.३ प्रतिशतले बढाएपछि वायुसेवा कम्पनीहरूले २ प्रतिशतहाराहारीले हवाई भाडा बढाउने निर्णय गरेको छ ।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले भाडा बढाउने निर्णय गरेको हो। आयल निगमले शुक्रबार मध्याह्नबाट लागू हुने गरी हवाई इन्धनको भाउ प्रतिलिटर ६ रुपैयाँ बढाएर १ सय ३७ बाट १ सय ४३ पुर्यागएपछि वायुसेवा सञ्चालकहरूले पनि भाडा बढाउने निर्णय गरेका थिए।
हवाई इन्धनको भाउ बढेपछि वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा वृद्धि गर्ने गर्छन्। यो वृद्धि हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई बढेको भाडाकै रूपमा लिन्छन्।
‘न्यूनतम ६५ देखि अधिकतम २ सय ३५ रुपैयाँसम्म फ्युल सरचार्ज बढाउने निर्णय भएको छ,’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले शनिबार भने, ‘सबै आन्तरिक वायुसेवाले चैत ३ बाट नयाँ भाडा दरमा उडान गर्छन्।’
नयाँ दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार १ सय ४५ रुपैयाँ लाग्छ भने टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान ११ हजार २ सय ९५ रुपैयाँ तिर्नुपर्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा ‘नर्मल’ हुन्।
सिमरा सेक्टरमा ६५ र धनगढीका लागि २ सय ३५ रुपैयाँ बढाउने निर्णय भएको हो। आइतबार (चैत २) सम्मका लागि भने सिमरा जान ३ हजार ८० र धनगढीका लागि ११ हजार ६० रुपैयाँमै उडान गर्न पाइन्छ।
‘आयल निगमले इन्धनको भाउ बढाउँदा लाखौं हवाई यात्रुलाई मर्का परेको छ,’ एक वायुसेवाका अधिकारीले भने, ‘वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाई इन्धनमा खर्च हुने गर्छ, अहिलेको वद्धिले थप समस्या परेको छ।’
वायुसेवाहरूले माउन्टेन फ्लाइटलाई २ सय २५ रुपैयाँ, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैयाँ बढाउने निर्णय गरेका छन्।
अब माउन्टेन फ्लाइटका लागि १० हजार ६ सय ६०, पोखरा ४ हजार ९ सय ७०, भैरहवा ६ हजार ८५, विराटनगर ६ हजार ८ सय ३५, नेपालगन्ज ८ हजार ४ सय ३५, भद्रपुर ७ हजार ७ सय ६५, तुम्लिङटार ५ हजार ८०, जनकपुर ४ हजार २ सय ५०, भरतपुर ३ हजार ६ सय ७० तथा लुक्लाका लागि ४ हजार ४ सय ५० रुपैयाँ तिर्नुपर्छ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।