चैत्र २ फागुन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलन चर्किएर गएको छ । विद्यार्थी संगठनहरुले मूल्यवृद्धिको विरोधमा चैत्र ५ गते उपत्यका बन्दको घोषणा समेत गरेका छन् । यता, शनिबार आन्दोलनका क्रममा काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडी शनिबार एक सरकारी गाडीमा मूल्य वृद्धिको विरोध गरिरहेका पक्षले आगजनी समेत गरेका छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत समूहले शिक्षा मन्त्रालयको बा १ झ ५६८० नम्बरको गाडीमा आगजनी गरेका हुन् । आगजनीपछि गाडी क्षतिग्रस्त भएको छ ।
मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विभिन्न १६ विद्यार्थी संघ संगठनले शनिबार दिउँसो प्रदर्शनीमार्गस्थित आरआर कलेजबाट विरोध र्याली समेत निकालेका छन् । भृकुटी मण्डपबाट शान्ति बाटिकामा पुगेर समापन गरिएको विरोधसभाले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
एमाले भातृ संगठन युवा संघ नेपालले पनि शनिबार मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । मूल्य वृद्धिको विरोधमा बानेश्वरमा भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । प्रहरी हस्तक्षेपबाट केही प्रदर्शनकारी घाइते समेत भएका छन् । युवा संघले मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।
अखिल क्रान्तिकारीको बागबजारस्थित कार्यालय शनिबार नै बसेको १६ विद्यार्थी संगठनको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा समेत गरेको छ । आन्दोलन अन्तर्गत शनिबार विरोध प्रदर्शन गरिसकेको छ । यस्तै आगामी आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार देशव्यापी प्रदर्शनका साथै ९ बजेदेखि १० बजेसम्म सबै क्याम्पस अगाडी चक्काजाम गर्ने र दिनभर नै सरकारी गाडी गुड्न नदिने, सरोकारवालाहरुसग अन्तरक्रिया कार्यक्रम गर्ने, देशव्यापी मसाल जुलुस गर्ने छन् । यसैगरी, चैत्र ५ गते भने उपत्यका बन्दको घोषणा समेत १६ विद्यार्थी संगठनले गरेका छन् ।
विभिन्न विद्यार्थी संगठनहरुले मूल्य वृद्धिको निर्णय फिर्ता गराएरै छाड्ने घोषणा समेत गरेका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा पाँच दिन भित्र सरकारले मूल्य वृद्धिको निर्णय फिर्ता नलिए आमहड्तालसहित सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले बढेको मूल्य फिर्ता नभएसम्म विद्यार्थी आन्दोलन जारी रहने बताए । उनले आन्दोलनमा दमन गरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।
नेपाल विद्यार्थी संगठनका अध्यक्ष रञ्जित कर्णले मूल्यवृद्धिको फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए । १६ संगठनको आन्दोलनमा भने आफ्नो संगठन सहभागी नहुने भन्दै अध्यक्ष कर्णले बन्दको साटो मूल्यवृद्धि फिर्ता गराउन अनसन बस्न तयार पनि उल्लेख गरे ।
कार्यक्रममा अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सरकारले मुल्यबृद्धि फिर्ता नगरे आमहडताल गर्न बाध्य हुने चेतावनी दिए ।
नेकपा माओवादी निकट अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले केही रकम घटाएर विद्यार्थी फकाउने प्रयास नगर्न चेतावनी दिँदै मुल्य वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।
यता, प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले पनि मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले शनिबार राजधानीमा पत्रकारहरुसग महंगी विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् ।
जनताको ढाड सेक्ने गरी पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताका लागि सदन र सडकम सशक्त आवाज उठाउने एमाओवादीले जनाएको छ ।
यता, नेकपा माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले पनि मूल्यवृद्धिको विरोध गरेको छ ।
गरिबी, महङ्गी, लोडसेडिङ्गजस्ता समस्याहरुबाट आक्रान्त बनेका नेपाली जनताको जीवन यस मूल्यवृद्धिले झनै कष्टकर बनाउने भन्दै मोर्चाले मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
३३ दलीय राजनीतिक मोर्चा सरकारको यस जनघाती कुकृत्यको घोर निन्दा एवम् भत्र्सना गर्दछ र उक्त मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गर्दछ मोर्चाका संयोजक देव गुरुंगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, यदि फिर्ता नगरिएमा मोर्चा सशक्त सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध भईरहदा नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले भने बिरोध गर्नुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।
उनले सरकारले बाध्य भएर मुल्य बढाएको बताए । विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य तथा आपूर्त िविभागले शनिबार राजधानीमा गरेको कार्यक्रममा पौडेलले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको समायोजनका लागि मुल्य बढाउन परेको बताएका छन् ।
Comments