फागुन ३० । नेकपा माओवादीले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न माग गरेको छ । 
सरकारले शुक्रबार बढाएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नगरे जनता सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत माओवादीले दिएको छ ।
नेकपा माओवादीका सचिव तथा संयुक्त जनसमितिका संयोजक देव गुरुंगले विज्ञप्ति निकालेर  मुल्यवृद्धि तत्काल फिर्ता लिन र जनविरोधी निर्णय नगर्न वर्तमान सरकारलाई आग्रह समेत गरेका छन् ।
‘सरकार गठन लगत्तै फुटपाथका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध खेद्ने सरकारको यो पछिल्लो निर्णयले सरकार जनविरोधी काम गर्न उद्यत भएको आभास हुन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको यो मूल्यबृद्धिप्रति हामी गम्भीर आपत्ती प्रकट गर्दछौं ।’ 
निगम भित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरुको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको प्रष्ट भएको भन्दै नेता गुरुंगले सरकारले त्यसतर्फ पूरै आँखा चिम्लेर जनतामाथि आफ्नो कमजोरी थोपरिरहेको समेत जनाएका छन् ।
निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६–६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।