फागुन २९ । सरकारले ६ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीवार विहान मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले ६ सह–सचिवहरुलाई सचिवमा बढुवा गरको हो ।
बढुवामा परेका सहसचिवहरुमा डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटी छन् । ती ६ जनालाई सचिवमा बढुवा गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्त एवम सूचनातथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिए ।
सोही बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने निर्णय पनि भएको छ । सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसदमा प्रस्तुत गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री रिजालले जानकारी दिए ।
सबै मन्त्रीहरुको सम्पत्ति विवरण केही दिनमै एकैचोटी वेवसाइटमार्फत सार्वजनिक गरिने पनि प्रवक्ता रिजालले जानकारी दिए ।
Comments