काठमाडौं २२ साउन । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया दुर्घटनामामा परेको आरोप लगाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् बैठकको निर्णय जस्ताको त्यस्तै

प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले संवैधानिक परीषदको अध्यक्षको हैसियतमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश श्री दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधान न्यायाधिश पदका लागि प्रस्तावित गर्नु भयो । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ को दफा ५ को व्यवस्था बमोजिम प्रधानन्यायाधिश पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानूनमा उल्लेख भएको योग्यता, उपयुक्तता र निजको समाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानी संवैधानिक परिषदले प्रधानमन्त्रीको प्रस्तावमा सर्वसम्मत रुपमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय ग¥र्यो । त्यसै अनुसार संसदीय सुनुवाई समितिमा अनुमोेदनका लागि पठाइयो । तर, प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्रीको पार्टीको तर्फबाट संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुबाट विना आधार र कारण सर्वोच्च अदालतको प्रधानन्यायाधिश पदमा नियुक्त गर्ने सिफारिस अस्वीकृत गरियो ।

समग्रमा, प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएको कारण प्रधान न्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा प¥र्यो । यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गर्दछ ।

शोक प्रस्ताव : नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको गत श्रावण २० गते भएको असामयिक निधन, नेपाली कांग्रेस नुवाकोटका पूर्व महासमिति सदस्य विष्णु आचार्यको गत श्रावण १३ गते भएको असामयिक निधन र नेपाली कांग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत श्रावण ९ गते भएको निधनप्रति आजको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँहरुको निधनबाट पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।