बुधवार पार्टी मुख्यालय बल्खुमा बसको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले नवौं महाधिवेशनको तयारीका लागि चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना बनाएको छ,’ एमाले सचिव शंकर पोख्रेलले भने, ‘बैठकले चैत ५ गते सम्ममा एउटा कमिटीबाट अर्को कमिटीमा सदस्यता स्थानान्तरणका लागि समयावधी तोकेको छ ।’ स्थायी कमिटिको उक्त निर्णय अनुसार करीब अढाइ लाख पार्टी कार्यकर्ताको सदस्यता नविकरण अबको एक महिनाभित्र गरिसक्नु पर्ने छ ।
त्यसैगरी बुधवारको बैठकले अध्यक्ष झलनाथ खनाल नेतृत्वको दस्तावेज लेखन समितिले तयार पारेको मस्यौदामाथि छलफलका लागि वैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बैठकबाट पारित दस्तावेजलाई वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म देशव्यापी छलफलमा पठाउने तयारी छ ।
गत फागुन २२ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको दस्तावेज लेख्ने जिम्मा अध्यक्ष खनालसहति तीन जना नेतालाई दिएको थियो । दस्तावेज लेखनको संयोजकमा अध्यक्ष खनाल र सह–संयोजक उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम तोकेको छ । सचिवमा पार्टी महासचिव इश्वर पोख्रेल रहेका छन् । बुधवारकै बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको महाधिवेशनको कार्ययोजना सम्बन्धी प्रस्तावलाई पनि संशोधनसहित पारित गरेको छ ।
गत फागुन २२ मै सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजना बनाउन महासचिव पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन थियो । महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्ययोजना तयार पार्न पोखरेल संयोजक रहेको कार्यदललाईं केन्द्रीय कमिटिले ५ दिनको समयावधी दिइएको थियो । महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजनालाई कार्यदलले पाँच दिन भित्रमा तयार पारेपछि त्यसलाई स्थायी कमिटीले अनुमोदन गर्ने निर्णय पनि केन्द्रीय कमिटि बैठकले गरेको थियो । कार्यदल सदस्यहरुमा सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र भीम रावलसहित रहेका छन् ।