काठमाडौं २३ साउन । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको साथबाट ७ करोड रुपैयाँ चन्दा असुलीको डायरी फेला परेको दाबी गरेको छ ।

प्रहरी प्रधान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले हेटौंडाबाट काठमाडौं फर्किंदै गरेका प्रकाण्डसहित तीन जनालाई बुधबार पक्राउ गरेको थियो ।

उनीहरूमाथि जबर्जस्ती चन्दा असुली गरेको आरोप छ भने उनीहरू सवार गाडीमा प्रहरीले पार्टीको केन्द्रीय आर्थिक विभागको विवरण समेटिएको डायरी पनि फेला परेको र डायरीमा पार्टीले करिब ७ करोड रुपैयाँ चन्दा उठाएको उल्लेख रहेको प्रहरीले दाबी गरेको छ ।

परिसरले मंगलबारै जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्ने म्याद लिएको छ । प्रहरीले उनीहरूविरुद्ध चन्दा ऐन, २०३३ अनुसार कारबाही माग राखी मुद्दा दर्ताको तयारी गरेको छ । नेकपाले भने पक्राउको विरोधमा नेपाल बन्दसम्मको आन्दोलनको घोषणा गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।