पोखरा, २६ साउन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताएकी छिन् ।
पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उनले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने पानी राम्रो मूल्यमा बिक्री गर्न सकिने बताइन् ।
मन्त्री मगरले संविधानको मौलिक हकमा व्यवस्था भएअनुरुप जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिरहेको बताउँदै विश्वको दोस्रो जलस्रोतको धनी मुलुक नेपालमा अहिले पनि पानीको सही सदुपयोग हुन नसकेको धारणा व्यक्त गरिन् ।
सो अवसरमा मन्त्री मगरले मर्दीखोलास्थित खानेपानीको मुहान निरीक्षण पनि गरिन भने सोही स्थानमा चाँपका बिरुवासमेत राेपेकी थिइन ।