म्याग्दी ३ भदौ । अहिले जताततै कर असुल्ने गरेको, आफ्नो सेवा सुविधाका लागि जे पनि गर्ने गरेको भनेर जनप्रतिनिधिहरु खुबै आलोचित हुँदै आएका छन् ।
तर, तिनै जनप्रतिनिधि मध्ये कोही भने नमूना समेत बन्नेमा छन् । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले आफ्नो तलब वृद्धिमा लोभ देखाएनन् न त उनले गाडी किन्नेमा नै लागे बरु उनले त जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्ने घोषणा गरेका छन् ।
ती व्यक्ति हुन्– रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी । भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका छन् ।

गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराउनुभएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।

“म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर पालिकाको आठवटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु”, अध्यक्ष भण्डारीले भने, “विकट र दुर्गम क्षेत्रकाविपन्नबालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु ।”

गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ । पहिलो वर्षको करीब रु चार लाख कोषमा जम्मा गरिसकेको भण्डारी बताउँछन् । पाँच वर्षको अवधिमा करीब रु २५ लाख कोषमा जम्मा हुने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।