काठमाडौं ८ भदौं ।
पत्रकारिता तथा आमसञ्चार डिग्री सेमेस्टर पहिलो ब्याचमा उत्तिर्ण एक छात्रा साउन अन्तिम साता त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगिन् । पिआर भिषामा युरोपियन देश जान उनले भोलि पल्ट डिग्रीको सर्टिफिकेट बुझाउनुपर्ने भएपछि उनी त्रिवि बल्खु पुगेकी थिइन् । तर, उनलाई त्रिविले फेल भएको भन्दै फर्काइदियो । प्रिन्ट भईसकेको उनको ट्रान्सक्रिप्टमा हातले ‘यो फेल छ’ लेखिएको थियो ।
उनी रुँदै घर फर्किइन् । उनको परिवारले पहिले पास गरेको भनेर झुक्याउने भनी प्रश्न खडा गरे । उनले बेलीविस्तार लगाएपछि उनको परिवारले विद्यार्थीको समस्या नभएको बुझेपछि घरपरिवार भने भाडिएन । उनले अन्य साथीहरुलाई समेत खबर गरिन् । शोधपत्र बुझाउने क्रममा रहेका पहिलो सेमेस्टर ब्याजका मात्र ५१ जना भन्दा बढी विद्यार्थी फेल हुने देखिए पछि उनीहरु डिन, भिसीलाई भेटेर प्रश्न खडा गरे । डिन र भिसी दुवैले समस्या तत्काल हल गछौं भने तर समस्या अझै उस्तै छ ।
मनाेमानी निर्णय
देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योलतामा पुगेको हो। २०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो ।
त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर जिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ जिपिए भन्दा कम प्राप्त गर्नेलाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो । त्रिवि आफ्नै निर्णय समेत गैरकानुनी र आफैंमा विवादित देखिएको छ ।
सुरुमा एउटा व्यवस्था गर्ने र भूत प्रवाही हुने गरी सेमेस्टार प्रणाली लागू भएको वर्र्षौपछि अर्को निर्णय गर्ने त्रिविको निर्णयपछि विद्यार्थीहरु आक्रोशित छन् । विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टार प्रणालीमा विश्व बैंकको कम्प्लेनपछि पाँच वर्षपछि विद्यार्थीको भविष्य नै अन्धकार हुने निर्णय गरेको विद्यार्थीहरुको भनाई छ ।
एउटै ब्याजका ८५ प्रतिशत फेल
त्रिविको नयाँ निर्णयले एउटै ब्याजका ८५ प्रतिशत भन्दा बढी विद्यार्थी यसअघि पास भएर पनि पुनः फेल हुने अवस्था सिर्जना भएको छ ।
पत्रकार केन्द्रीय विभागको पहिलो ब्याजमा मात्र २.७ प्राप्त गरेर पास गर्ने तर ३ एसजिपिए प्राप्त नगर्ने ५१ भन्दा बढी पहिलो ब्याजका विद्यार्थी छन् । पहिलो ब्याजमा ८० विद्यार्थीले भर्ना गरेकोमा चौथो सेमेस्टरको परीक्षा दिने समयमा भने करिब ७० जना विद्यार्थी मात्र सहभागी थिए । दोस्रो ब्याजका विद्यार्थीमा समेत त्यस्तै समस्या रहेको छ । त्रिविले सुरुमा २.७ जिपिएले पास हुन पर्याप्त हुने सूचना दिएको विद्यार्थीहरुको दाबी छ ।
पत्रकारिता विभागका विद्यार्थीले डिपार्टमेन्ट प्रमुख, डिन र भिसीलाई भेटेर भूत प्रवाही कानुन लागू गरेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए । त्रिविका भिसी तिर्थ खनियाँले विद्यार्थीसँग तत्काल यो समस्या हल हुने बताएका थिए । पछिल्लो समय भने त्रिविले आफ्नो गल्ती ढाकछोप गर्न विद्यार्थीलाई जसरी पनि परीक्षाको फारम भराएर पास हुन दबाब दिईरहेको बुझिएको छ । पत्रकारिताका एक विद्यार्थीका अनुसार डिपार्टमेन्टले जसरी पनि पुनः परीक्षा दिएर ग्रेड वृद्धि गर्नुपर्ने नत्र सर्टिफिकेट नै पाए पनि काम नलाग्ने भन्दै दबाब दिइरहेको बताए ।
त्रिविको चरम लापरबाही एउटै ब्याजीलाई दुई थरी मापदण्ड
त्रिविको चरम लापरबाहीले सेमेस्टार प्रणालीका एउटै ब्याजीमा विद्यार्थीमा मनलाग्दी दुई थरी मापदण्ड लागू हुनेमा पुगेको छ । यसअघि शोधपत्र बुझाईसकेका कतिपय ३ जिपिए प्राप्त नगरेको तर २.७ वा सो भन्दा माथि जिपिए प्राप्त गरेका विद्यार्थीलाई त्रिविले ट्रान्सक्रिप्ट दिइसकेको छ । तर, पछिल्लो पटक भने २.७ सोही बराबरको जिपिए ल्याउने विद्यार्थीलाई त्रिविले ट्रान्सक्रिप्ट नदिई रोकेर राखेको हो । त्रिविले ट्रान्सक्रिप्ट नदिँदा कतिपय विद्यार्थी चरम मारमा परेका छन् । परीक्षा नियन्त्रण कार्यालयले डिन कार्यालयहरूले परीक्षामा पास भएको ग्रेडसिट दिएको आधारमै यसअघि ट्रान्सक्रिप्ट जारी गरेको र अहिले नदिन निर्देशन भएकाले रोकेको प्रतिक्रिया दिएको छ ।
अख्तियार गुहारे त्रिवि पनि अप्ठ्यारोमा
त्रिविले मनोमानी गरेको भन्दै कतिपय विद्यार्थीले अख्तियार र अदालत गुहार्ने तयारी गरेका छन् । ‘त्रिविले हामीलाई प्रयोगशाला बनायो, यिनीहरुलाई जे गर्दा नि हुन्छ भनेर गैरकानुनी काम समेत गरेको छ ।’ पत्रकारिता अध्ययन गरेका एक विद्यार्थीले भने ।
विद्यार्थीहरुले अख्तियार वा अदालतको ढोका ढकढकाएमा यसअघि २.७ वा सो भन्दा माथि र ३ भन्दा तल जिपिएवालालाई ट्रान्सक्रिप्ट वितरण गर्ने पदाधिकारीहरु भने अनियमिततामा तानिने निश्चित जस्तै देखिएको छ । त्रिविले यसअघि जारी गरेको ग्रेडसिटमा २.७ प्राप्त गर्ने विद्यार्थीलाई उत्तिर्ण घोषित गरेको थियो भने २.७ नल्याउनेलाई फेल घोषित गरेर पुनः परीक्षा दिन लगाएको थियो ।