नेपालगञ्ज, २५ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको बताएका छन् । उनले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताए ।

जननायक बिपी कोइरालाको १०५ औँ जयन्तीका अवसरमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।”

सभापति देउवाले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नालेनै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।” उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाए । लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।