काठमाडौं २२ असोज । तल्लो तहसम्मै पार्टी एकता टुंगिन नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद बढेर गएको छ । नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्र पेश गरेका छन् ।

नेपालले लिखित असहमति पत्र पेश गर्नुले पार्टीको विवाद बढेर गएको पुष्टि हुन गएको हो । अब उनले राखेको असहमति पत्र (फरक मत) माथि छलफल हुने भएको छ ।
प्रदेश इन्चार्ज(सहइन्चार्ज र अध्यक्ष(सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा भएका बेला संसदमा नेपालले चर्को रुपमा सरकारको आलोचना समेत गरेका थिए । त्यसलगत्तै उनले सचिवालय सदस्यहरुको बैठक समेत डाकेका थिए भने आफ्नो असहमति पत्र पार्टी महासचिवलाई बुझाएका थिए । ओली स्वदेश फर्कने क्रममा भने नेपाल र आफ्नो २९ वर्षदेखिको सम्बन्ध रहेको भन्दै सम्बन्धमा चिन्ता नलिन आग्रह गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।