काठमाडौँ, २९ असोज । यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ ।

बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिर्नुभएको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता उपाध्यायले सुनाए ।

विभागले घटस्थापनादेखि गरेको अनुगमनका क्रममा ५१५ सार्वजनिक यातायातलाई कारवाही गरेको छ । कारवाही गरिएका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । सवारीमा बढी भाडा लिने, एउटै सिटको दुईवटा टिकट दिएर यात्रुलाई दुःख दिनेलगायत समस्या आएमा प्रहरीको निःशुल्क नं १०१ र १०३ एवं विभागको हटलाइन ९८५१२७३२२२ मा खबर गर्न विभागले सार्वजनिक आह्वान गरेको छ ।

यात्रुको गुनासाका आधारमा सम्बन्धित सवारीलाई कारवाही गरिने प्रवक्ता उपाध्यायले बताए । चाडबाडका समयमा सार्वजनिक यातायातमा हुने अनियमित रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । एउटै सिटको दुई वटा टिकट दिने सवारीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीस्वरुप रु ५०० जरिवाना गरेको छ । दैनिक एक दर्जन सवारीले यस्तो गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ ।

घटस्थापनादेखि ७८ हजार ९५ सवारीमा सात लाख ५२ हजार ६७२ यात्रु दशैँ मान्न उपत्यकाबाहिर गएको महाशाखाको अभिलेख छ । यसै अवधिमा ६१ हजार २३३ सवारीमा तीन लाख ८१ हजार एक यात्रु उपत्यका भित्रिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।