काठमाडौं २८ असोज ।
सरकारले नेपाली झण्डासहितको रेल चलाउनका लागि कानुन बनाउने प्रक्रिया थाल्ने भएको छ । मन्त्रीपरिषद बैठकले जनकपुर जयनगर रेल वेमा नेपाली झण्डासहितको रेल चलाउन आवश्यक कानुन लगायतका अन्य संरचना निर्माणको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

निजामती कर्मचारीहरुको नयाँ भर्ना दुई महिनाका लागि रोकिने भएको छ । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेसँगै दुई महिना कर्मचारीको नयाँ भर्ना नहुने भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई आगामी मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको हो ।

आयोगले विभिन्न पदका लागि हुने परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा नै प्रकाशित गरेको थियो । तर, सरकारले निर्धारित समयमा नै रिक्त्त दरबन्दीको विवरण उपलब्ध नगराएपछि आयोगको तालिका अनुसार निर्धारित समयमा विज्ञापन गर्न सक्ने÷नसक्नेबारे अन्यौलता उत्पन्न भएको थियो ।

सरकारले भविष्यमा कस्तो जनशक्ति आवश्यक छ भनेर अध्ययनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा एक निर्देशक समिति गठन पनि गरेको छ ।
मन्त्रीपरिषदले नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिन निर्देशक समिति गठन गरेको हो । समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय दिइएको छ ।
समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्यलगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिनेछ ।
यस्तै, सरकारले मेडिकल कलेजले लिने शुल्क बढाउन प्रतिबन्ध लगाएको छ । मनपरी शुल्क तोकिएको गुनासोपछि सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारले जमलस्थित त्रिविको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय पनि गरेको छ । जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय भएको हो । इभेन्ट, शिक्षाका लागि खाद्य कार्यक्रम लगायत शिक्षाका परियोजनामा अस्थायी दरबन्दी कायम गर्ने पनि मन्त्री परिषद बैंठकले निर्णय गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।