काठमाडौं १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमा नै रहनुपर्ने भएको छ ।
स्वास्थ्यमा क्रमिक सुधार रहे पनि आरामकै लागि भएपनि उनी अझै केही दिन अस्पतालमा नै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन् ।
चिकित्सकहरुले अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही दिन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री जान नहुने समेत बताएका छन् ।
छातिमा संक्रमण र सुगरको मात्रा असन्तुलनपछि सोमबार बिहान प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
भेटघाटमा प्रतिबन्ध किन ?
प्रधानमन्त्री ओलीसँग भेटघाटमा रोक लगाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको जनाए ।
‘सम्मानित प्रधानमन्त्रीज्यूलाई भेट्न तथा सिघ्र स्वास्थ्य लाभको शुभकामना दिन चाहने शुभचिन्तकहरुको आकांक्षालाई यस अस्पतालले आत्मसात गरेतापनि संक्रमण नियन्त्रण गरी सम्माननीयज्यूको सिघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकिय राय अनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको ब्यहोरा सम्बन्धित सबैमा अनुरोध छ ।’ उनीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री अझै केही दिन अस्पतालमै, किन लगाइयो भेटघाटमा रोक ?
Comments







