बैतडी, २८ कात्तिक । बैतडीमा तत्कालीन नेकपा९एमाले० र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।

पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाउँपालिकामा तत्कालीन एमालेको नेतृत्व रहने छ । दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ ।

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालीन पार्टीभन्दा अर्को पार्टीकोे व्यक्ति रहने पनि निर्णय भएको छ । ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालीन पार्टीबाट ४२ र सचिवको तत्कालीन पार्टीबाट ३९ रहने छन् ।

यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालीन पार्टीबाट ३९ तथा सचिवको तत्कालीन पार्टीबाट ३६ सदस्य रहने छन् ।

सात जना रहने नगरपालिकाको कार्यालय कमिटीमा तत्कालीन एमालेबाट चार तथा माओवादीबाट तीन रहने छन् भने पाँच जना रहने गाउँपालिकामा कार्यालय कमिटीमा तीन एमाले तथा दुई माओवादी केन्द्रका रहने छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।