फागुन १५ । साइकल चढेर मतदाताको घरआँगनमा पुग्ने एमाले नेता लालबाबु पण्डित मन्त्री भएपछि गाउँका बासिन्दा खुसी भएका छन्। ‘साइकलमा हिँड्थे, मन्त्री भएछन्’, विराटनगर १६ का जवहार कामतले भने, ‘सज्जन र सरल मान्छे मन्त्री हुनु खुसीको कुरा हो।’ पण्डित एमालेका तर्फबाट मंगलबार सामान्य प्रशासनमन्त्री नियुक्त भएका हुन्। 
भद्र र नम्र स्वभाव तथा सामान्य जीवनशैलीका कारण लालबाबुलाई मोरङवासीले आमनेताभन्दा फरक कित्तामा राखेर हेर्छन्। त्यही कारण उनी जिल्लामा सम्मानित पनि छन्। सडक वा टोलमा भेटिएका विपन्न व्यक्तिलाई पनि उनी खाना खाएनखाएको सोध्छन्। सन्चोबिसन्चो सोध्ने, समस्यामा परेकालाई सहयोग गर्ने उनको सामाजिक व्यवहारलाई यहाँका सर्वसाधारणले भुलेका छैनन्।
आफ्नो नाम एकाएक मन्त्रीका रूपमा घोषणा हुँदा उनी आफैंलाई पनि अचम्म लाग्यो। ‘यो मेरो कुनै रहर वा सपना होइन। आइपरेको जिम्मेवारी हो’, मन्त्री बनेपछि उनले भने। अनेरास्ववियु सचिवालय सदस्य वासिम आलमले नेपाली राजनीतिले भद्र, इमानदार र निष्ठावान् नेता पाएको प्रतिक्रिया दिए। उनले भने, ‘एमालेका नेतापंक्तिमा गाडी नहुने कमै छन् तर पण्डित सधैं साइकलमै रमाउनुहुन्थ्यो। हामीले मोटरसाइकल चढौं भन्दा भइगो भन्नुहुन्थ्यो।’
विभिन्न गाउँमा हुने कार्यक्रममा पनि उनी साइकल चढेरै पुग्थे। एमालेभित्र उनले सदाचारको साँचो उदाहरण प्रस्तुत गरेका थिए। उनी २०४८ सालदेखि एमालेका तर्फबाट तीनपटक सांसद भइसकेका छन्। २०६४ सालमा उनी संविधानसभा सदस्य थिए। एमाले मोरङका सदस्य पारुल क्षेत्रीले भने, ‘एमाले राजनीतिमा लालबाबुले बेग्लै छाप छोडेका छन्।’
उनी मधेसी समुदायका पनि अल्पसंख्यक जातिका प्रतिनिधि हुन्। मधेसमा माटोका सामग्री बनाउने काम गर्ने जातिका रूपमा चिनिने उनको समुदायलाई ‘तराईका कुमाल’ पनि भन्ने गरिन्छ। यो समुदायको जनसंख्या करिब ६४ हजार छ।
अघिल्लो संविधानसभामा समानुपातिकबाट सभासद् बनेका पण्डित अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हकअधिकार संरक्षण समितिका सभापति पनि थिए। पहिलो संविधानसभामा आफ्नो जिम्मेवारी तोकिएको प्रतिवेदन बुझाउने लालबाबु नेतृत्वको समिति पहिलो हो।
‘जहिल्यै पनि निष्ठापूर्वक काम गरेको छु’, मन्त्री भएपछि उनले भने, ‘आगामी दिनमा पनि यसरी नै अघि बढ्छु र जनताको सेवामा लाग्छु। मलाई लोभलालच छैन। पैसा कमाउनु पनि छैन।’ उनी ३५ वर्षभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय रहेको खबर अन्नपूर्णमा छापिएको छ ।
काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा ओभरसियरको जागिर खाँदाखाँदै उनी राजनीतिमा लागेका हुन्। ५६ वर्षीय पण्डित मोरङलाई केन्द्र बनाएर करिब ३० वर्षदेखि राजनीति गरिरहेका छन्। सर्लाहीको धनगाडा गाविसमा जन्मिएका उनी पार्टीभित्र पनि निष्कलंक व्यक्तिका रूपमा चिनिन्छन्।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।