भक्तजनलाई घाम र वर्षाबाट जोगाउन यस वर्ष कोषले पहिलोपल्ट लाइन बस्ने ठाउँमै पालको व्यवस्था गरेको पनि उनले जानकारी दिए । ‘एक घन्टाभित्र दर्शन गराइसक्ने गरी चार स्थानबाट लाइन बस्ने व्यवस्था मिलाइएको छ,’ टण्डनले भने,’ ‘गौशाला, पिंगलास्थान, चारशिवालय, पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, एयरपोर्ट, तिलगंगा पिंगलास्थान, चारशिवालय, पञ्चदेवल, दक्षिण ढोका, वत्लेशवरी, आर्यघाट हुँदै पूर्वी ढोकाबाट र मित्रपार्क, गौरीघाट, उमाकुण्ड–रुद्रगारेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ ।’ सःशुल्क दर्शनार्थीका लागि जयवागेश्वरी, पक्षेवी, भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गने व्यवस्था मिलाएको पनि कोषले जनकारी दिएको छ ।
कोषले दिएको जानकारी अनुसार भारतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनका लागि हजारौंको संख्यामा साधुसन्तु आइपुगेका छन् भने देशका विभिन्न स्थानबाट समेत सर्वसाधारण पशुपतिनाथ दर्शनका लागि राजधानी आइसकेका छन् । पशुपति क्षेत्रका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर खडा गरिएको छ । त्यस्तै, विकाशकोषले दर्शनार्थीका जुत्ता–चप्पल राख्नका लागि छुट्ै व्यवस्था मिलाइएको छ । सुरक्षालाई ध्यानमा राखेर पशुपति क्षेत्रका विभिन्न ठाउँमा सीसीटिभी जडान गरिएको र टाढा–टाढाबाट आएका दर्शनार्थीलाई बस्ने–खाने व्यवस्था मिलाइएको पनि पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
चार हजार बढी साधुसन्तको उपस्थिति रहने अनुमान गरिएको मेलामा मन्दिर परिसरभित्र साधु, सन्तलगायत सर्वसाधरणलाई गाँजा, भाङ खान भने निषेध गरिएको छ । बिहीवार बिहान साढे तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था मिलाइएको टण्डनले जानकारी दिए । कोषले एक हजार रुपैया तिरेपछि लाइन नबसी दर्शन गर्न पाइने व्यवस्था पनि मिलाइएको छ । कोषले मन्दिर प्रांगणबाहिर कोर क्षेत्रसहित जयवागेश्वरी, मित्रपार्क, उमाकुण्ड, गौशालासमेत ६ ठाउँबाट चन्दन वितरण गरिने समेत व्यवस्था मिलाएको छ । पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन कोषले सादा पोसाकमा प्रहरी खटाई शंकास्पद व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई मनोरञ्जन दिन धार्मिक कार्यक्रम र गीत–संगीतका लागि भारतीय कलाकारलाई बोलाइएको समेत टण्डनले जानकारी दिए । मन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन यस वर्ष पशुपति क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । कोषले पहिलोपल्ट भारतको सिलीगुढीबाट १६ लाखको आधुनिक बत्ती मगाएर मन्दीरलाई झकिझकाउ बनाएको पनि उनले जानकारी दिए ।
दर्शनार्थीहरुको चापलाई ध्यानमा राखेर कोषले नेपाल टेलिकम तथा एनसेलबाट मेला क्षेत्रमा शिवरात्रि अगावैदेखि बिटिएस भ्यान राखी मोबाइल सेवालाई सहज बनाइएको छ । ‘एसएमएसमार्फत पनि महाविशरात्रिको सन्देश दिने व्यवस्था गरेका छौ,’ उनले भने, ‘नेपाल प्रवेश गर्ने नाका विराटनगर, वीरगन्ज, सुनौली, भैरहवा, काँकडभिट्टा, महेन्द्रनगर, धनगढी जस्ता स्थानमा समेत स्वागत तुल र व्यानर राख्ने व्यवस्था मिलाएको छ ।’ ४ हजार बढी स्वयंसेवक परिचालन गरी कोषले दर्शनलाई सहज बनाउँने तयारी गरेको छ ।