काठमाडौं, २२ मंसिर । तराई मधेसको विकास निर्माण कार्यमा भईरहेको ढिलासुस्ती एवं अनियमितताका विरुद्ध आवाज उठाउने उद्देश्यले युवाहरु संगठित भएका छन् ।
काठमाडौंमा शनिबार भएको युवाहरुको भेलाले मधेस विकास मञ्च गठन गर्दै विकासका मुद्धामा सशक्त आवाज उठाउने निर्णय गरेका छन् । काठमाडौंमा अध्ययन एवं विभिन्न पेशामा सक्रिय युवाहरुको सो भेलाले सुभाष साहलाई मञ्चको संयोजक चयन गरेको छ ।
‘मधेस र मधेसीको नाम लिएर भजाउँने र सत्तामा पुगेपछि काम नगरी रमाउँनेहरु धेरै भए’ संयोजक साहले भने, ‘अब ति मसिहा तथा वर्षौदेखी सत्तामा रहेर पनि मधेसको विकास गर्न नचाहने शासकका बिरुद्धमा सशक्त आवाज उठाउनेछौं ।’
युवाहरुको भेलाले वर्षौदेखी बनाउँने भनिए पनि अहिलेसम्म बनाउँन नसकिएको हुलाकी राजमार्ग आठ लेनको बनाउँनुपर्ने, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक लगायत राष्ट्रिय गौरबका योजना बनाउँन सरकार, राजनीतिक दल तथा तिनका नेतालाई दबाब दिने संयोजक साहले बताए ।
मधेसमा पर्यटनको बिकासका लागि मञ्चले लुम्बिनी–गढीमाई–सिम्रौनगढ–जनकपुर जोडने गरी रेलमार्ग निर्माण हुनुपर्ने माग अघि सारेको छ । यसैगरी रक्सौल–बीरगंज–काठमाडौं तथा पुर्व पश्चिाम रेलमार्ग निर्माण छिटो हुनुपर्ने माग मञ्चमा आबद्ध युवाहरुले गरेका छन् ।
मधेसका राष्ट्रिय वनजङ्गल मासेर निर्माण गरिएका भौतिक संरचना हटाउँनुपर्ने, हरियो मधेस निर्माणका लागि एक अर्ब बोटबिरुवा रोप्नुपर्ने अभियान शुरु गर्नुपर्ने माग सरकारसंग गर्दै मञ्चले चुरेसंरक्षण गर्न आग्रह गरेको छ ।
मञ्चले मधेसका प्रत्येक स्थानीय तहका प्रत्येक वडामा अत्याधुनिक पुस्तकालय स्थापना गर्नुका साथै शिक्षा, स्वास्थ्य, कानुन, इन्जिनियर, कृषी, लगायतका शिक्षाका लागि आंगिक एवं उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने माग सरकासंग गरेको छ ।
यसैगरी धार्मिक, सांस्कृतिक, पुरातात्वीक एवं ऐतिहासिक स्थल सिम्रौनगढ, गढीमाई, जनकपुरधाम, सहलेस, लुम्बिनी लगायत क्षेत्रको बिकासका लागि महत्वपुर्ण योजना ल्याउँन सरकारसंग माग गरिएको छ ।
मधेसका प्रत्येक जिल्ला सदरमुकाममा राष्ट्रियस्तरको खेलमैदान, सभागृह निर्माण गर्नुपर्ने माग अघि सारिएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने कलैयामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्नुपर्ने माग मञ्चको रहेको छ ।
बन्द अवस्थामा रहेका बीरगंज कृषी औजार कारखाना, वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना सहितका उधोगहरु पुनसञ्चालन गर्नुपर्ने र नयाँ उधोग स्थापना गरी रोजगारीको सृजना गर्नुपर्ने माग मञ्चले अघि सारेको छ ।






